व्यवसायीक रुपमा आलु उत्पादन गरेर लाखौं कमाउँदै किसानहरु

राम धामी
डडेल्धुरा, १५ माघ
खेतमा लगाएको गहुँबाली नष्ट गरेर आलु खेती गरेका परशुराम नगरपालिका–६ कुडाका रनबहादुर धामीले एकै सिजनमा ५५ क्वीन्टल आलु उत्पादन गरेर बिक्री गर्नुभएको छ । गहुँ बालीकै भर परेको भए मुस्किलले तीन क्वीन्टल गहुँ उत्पादन हुने गरेको उँहाले बताउनु भयो ।
गहुँ उत्पादन भन्दा आलु उत्पादनबाट नाफा हुने भएपछि हाल पुरै खेतमा तीन सिजन आलु खेती गरिरहेको धामी बताउनुहुन्छ । रनबहादुर मात्रै होइन, पछिल्लो समय डडेल्धुराका अधिकांस किसानहरु खाद्य बाली उत्पादन गर्न छोडेर आलु उत्पादनमा जुटेका छन । आलु उत्पादनका लागि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले सहयोग गर्न थालेपछि यँहाका कृषकहरु व्यवसायीक रुपमा आलुखेती तर्फ आकर्षित भएका हुन ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले डडेल्धुरामा परियोजना कार्यान्वयन इकाइ स्थापना गरेर आर्थिक बर्ष २०७३÷०७४ देखि आलु बालीको जोन विकास कार्यक्रमको रुपमा काम थालेसँगै यँहाका किसानहरु आलुखेतीतर्फ आकर्षित भएका हुन । परियोजना शुरु हुनुभन्दा पहिला डडेल्धुरामा एक सय एक हेक्टर जग्गामा मात्रै आलु खेती गरिन्थ्यो ।
व्यवसायीक तरकारी उत्पादनका लागि बिगत देखिनै अग्रणी मानिने डडेल्धुरा जिल्लाका केहि बस्तीमा मात्रै व्यवसायीक रुपमा आलु खेती गरिने गरिएको र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले काम थालेसँगै आलु खेती विस्तार भएको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख रामचन्द्र भट्टले बताउनु भयो ।
हाल आलु सुपरजोनका रुपमा परियोजनाले आलु खेती बिस्तारका लागि किसानहरुलाई सघाउन थालेपछि जिल्लाभर सात सय ६० हेक्टर क्षेत्रफल जमिनमा आलु खेती भइरहेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका कृषि प्रावधिक सितल भट्टले बताउनु भयो । हाल डडेल्धुरा जिल्लाका सातवटै स्थानीय तहमा आलु सुपरजोनको क्षेत्र बिस्तार भएको परियोजनाले जनाएको छ ।
परियोजनाले एक सय २० वटा कृषक समुह, २० वटा सहकारी संस्था, ६० वटा व्यवसायीक फर्म, एउटा उद्योग र आठवटा कम्पनी गरेर कुल दुई सय २९ वटा सरोकारवाला सुचिकृत संस्थाहरुसँग साझेदारीमा काम गरिरहेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना आलु सुपरजोन कार्यान्वयन इकाई डडेल्धुराका प्रमुख धुव्रराज जोशीले जानकारी दिनुभयो ।
हाल डडेल्धुरा जिल्लाभरिका दुई हजार छ सय ९८ घरघुरी किसानहरुको व्यवसायीक रुपमा आलु उत्पादन गरिरहेको उँहाले जानकारी दिनुभयो । आलु सुपरजोन कार्यक्रमको भु–उपयोग विवरण अनुसार हाल अमरगढी नगरपालिकामा दुई सय १६ हेक्टर, गन्यापधुरा गाउपालिकामा दुई सय ६६ हेक्टर, आलिताल गाउपालिकामा दुई सय १० हेक्टर, परशुराम नगरपालिकामा दुई सय ८६ हेक्टर, अजयमेरु गाउँपालिका भागेश्वर दुई सय २० हेक्टर, भागेश्वार गाउँपालिकामा दुई सय ७८ हेक्टर र नवदुर्गा गाउपालिकामा एक सय १२ हेक्टर जग्गामा व्यवसायीक रुपमा आलु खेती गरिएको छ ।
चालु आर्थिक बर्षमा मात्रै २६ वटा नयाँ क्लष्टरमा ८० हेक्टर क्षेत्रफल जग्गामा आलु उत्पादनको क्षेत्र बिस्तार भएको परियोजना कार्यान्वयन इकाई डडेल्धुराले जनाएको छ । परियोजनाले साना सिंचाइ अन्तर्गत १६ वटा समुह÷सहकारी र फर्म सँग सम्झौता भएको छ भने कृषि यान्त्रिकरण अन्तर्गत ५० प्रतिसत अनुदानमा ४२ वटा मिनिटिलर समुह÷सहकारी र फर्मलाइ बितरण गरिएको छ ।
आगामी आ.व. देखि चक्लाबन्दीमा आलु खेती मार्फत थप क्षेत्र बिस्तारका लागि परियोजनाले कार्यक्षेत्र गर्ने लक्ष्य लिएको आलु सुपरजोन कार्यान्वयन इकाई डडेल्धुराका प्रमुख जोशीले बताउनु भयो । परियोजना सुरु हुँदा आलु बालीको उत्पादकत्व १६ मेट्रिक टन प्रति हेक्टर रहेकोमा हाल २२.७२ मेट्रिक टन प्रति हेक्टर पुगेको कृषि ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ ।
आलु बालीको उत्पादन लागत न्युनिकरण गर्न परियोजना कार्यान्वयन इकाईबाट ५० प्रतिसत अनुदानमा छ सय ४६ कृषि सामग्रीहरु वितरण गरिएको छ । साना सिंचाइ योजना अन्तर्गत हालसम्म दुई सय ५४ वटा योजना सम्पन्नर भइसकेको परियोजनाले जनाएको छ । आलु सुपरजोनको सहयोगमा २० हेक्टर बाँझो जमिनमा आलु खेती गरिएको छ ।
चक्लाबन्दीमा आलु खेती हुने क्लष्टरहरुमा जङ्गली जनावरको आक्रमण न्युनिकरण गर्न करिब १० वटा क्लष्टरको करिव ८० हेक्टर जमिनमा घेरवार गरिएको छ । परियोजना अन्तर्गत भटमास जोन, अदुवा÷बेसार जोन र सुन्तला जोन पनि सञ्चालन गरिएको कृषि प्रावधिक भट्टले बताउनुभयो । आर्थिक बर्ष २०७६÷७७ देखि परियोजना कार्यान्वयन इकाइ डडेल्धुरा अन्तर्गत भटमास जोन सञ्चालन भइ जिल्लाका छ वटा स्थानिय तहमा भटमास खेती गरिएको उँहाले जानकारी दिनुभयो ।
भटमास जोन सुरु हुँदा भटमास बालीको उत्पादकत्व ०.६८ मेट्रिक मेट्रिक टन प्रति हेक्टर रहेकोमा हाल १.२४ मेट्रिक टन प्रति हेक्टर पुगेको कृषि ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ । भटमास खेती जोन सञ्चालन हुनुभन्दा पहिले परम्परागत तरिकाबाट गरिदै आएकोमा हाल उन्नत तरिकाबाट भटमास खेती भइरहेको कृषि प्रावधिक भट्टले बताउनु भयो । डडेल्धुरामा उत्पादित आलु बिउको रुपमा पनि बिभिन्न जिल्लाहरुमा सप्लाई हुने गरेको आलु सुपरजोन परियोजना समन्वय समिति डडेल्धुराले जनाएको छ ।

You might also like