राम धामी
डडेल्धुरा, १४ माघ
डडेल्धुरा र कञ्चनपुर जिल्लाको सिमावर्ती चुरे बस्तीमा हिउँदमै खानेपानीको हाहाकार भएको छ । वन विनासका कारण खानेपानीका मुहानहरु भासिँएसँगै परशुराम नगरपालिका–७ मलास क्षेत्रका बस्तीहरुमा खानेपानी समस्या उत्पन्न भएको हो ।
चुरे पर्वत श्रृखलाका बस्तीहरु बसन्यौटा, काजीगडा, दधिगडा र खोरियामा खानेपानीको चरम अभाव झेल्नु परिरहेको स्थानीय बताउछन । फिनल्याण्ड सरकारको सहयोगमा गैर सरकारी संस्था एकीकृत विकास समाज डडेल्धुराले सौर्यउर्जामार्फत लिफ्ट खानेपानी योजना निर्माण गरेपछि चुरे श्रृंखलामा रहेका बड्डीमलास, पिपलकोट र भूमिथला गाउँमा खानेपानी सुविधा पुगेको छ ।
‘मुख्य गरेर मलास क्षेत्रका चारवटा बस्तीमा खानेपानीको चरम अभाव उत्पन्न भएको छ,’ स्थानीय अगुवा विवेक धामीले भने, ‘झण्डै एक सय बढि घरधुरी परिवारलाई खानेपानी अभावका कारण बस्तीनै छोडनुपर्ने बाध्यता देखिएको छ ।’ उनले खानेपानी योजना कार्यान्वयनका लागि कुनै पनि निकायले बजेट बिनियोजन नगरेको जानकारी दिए ।
विगतका बर्षहरुमा चुरे पर्वत श्रृंखलामा रहेका दर्जनौ बस्तीहरुमा खानेपानीको खासै समस्या थिएन । हरेक बस्तीमा कुवा र इनार थिए । पछिल्ला बर्षहरुमा मुहान भासिएकाले कुवा र इनारमा पानी नभएकाले खानेपानी समस्या उत्पन्न भएको स्थानीय बुद्धी धामीले बताए । उनले बस्तीमा रहेका खानेपानीका मुहान सुकेकाले खानेपानीका लागि बेसीमा रहेको खोलासम्म पुग्नु परेको बताए ।
‘महिला मात्रै होइनन् घरका हरेक सदस्यले टाढाबाट बोकेर खानेपानी ल्याउनु परेको छ,’ काजिगडाका रामबहादुर महताले भने, ‘हरेक दिन खानेपानीका लागि परिवारका आधा सदस्यले दिनभर मिहेनत गर्नु परेको छ ।’ खानेपानीको चरम अभावका कारण सरसफाई र स्वच्छतामा पनि समस्या रहेको स्थानीय बताउछन ।
खानेपानीको अभावमा शौचालय प्रयोग गर्न कठिनाई रहेको दधिगडा गाँउका मन्धिरसिँह धामीले बताए । उनले खानेपानीको अभावमा करेशाबारीमा तरकारी उत्पादन गर्न कठिनाई भएको र नगदे बालीसमेत प्रभावित हुने गरेको जानकारी दिए । अदुवा, बेसार, लसुन जस्ता नगदेबाली र फलफूल उत्पादनका लागि मलास क्षेत्र अग्रणी मानिन्छ । सो क्षेत्रमा उत्पादित नगदे बाली र फलफूल कञ्चनपुरको महेन्द्रनगर बजारमा बिक्री गरिने स्थानीय बताउछन । वडादेखि नगरपालिका र जिल्लास्थित निकायहरुसँग पटक पटक खानेपानी योजना माग गर्दा पनि सुनवाई हुन नसकेको स्थानीयको गुनासो छ ।
हरेक निर्वाचनका बेला मलास क्षेत्रमा खानेपानी समस्या समाधान गर्ने उम्मेदवारहरुले आश्वासन दिए पनि हालसम्म खानेपानी योजना निर्माण हुन नसकेको खोरिया बस्तीका अंगबिर धामीले बताए । ‘डडेल्धुराबाट सातपटक विजयी भएर पाँच पटक प्रधानमन्त्री बन्नु भएका शेरबहादुर देउवाले हालसम्मका हरेक निर्वाचनमा मलास क्षेत्रका सबै बस्तीमा खानेपानी र सिँचाई योजना निर्माण गर्ने आवश्वासन दिए,’ उनले भने, ‘तर, चुनावी नारा र आश्वासनमा मात्रै खानेपानी समस्या सिमित बन्न पुगेको छ ।’
परशुराम नगरपालिका वडा नं. ७ का वडाध्यक्ष कृष्णबहादुर धामीले मलास क्षेत्रका बस्तीहरुमा खानेपानी योजना निर्माणका लागि पहल गरिने बताए । ‘खानेपानीका मुहानहरु भासिएकाले बस्तीदेखि निकै तलबाट खानेपानी योजना निर्माण गर्नुपर्ने देखिएको छ ।’ वडाध्यक्ष धामीले भने, ‘लिफ्ट खानेपानी योजना निर्माण गरेर हरेक घरधुरीमा खानेपानीमा पु¥याउन वडा कार्यालयको बजेटबाट सम्भव नहुने भएकाले बिभिन्न निकायहरुसँग योजना माग गरिरहेका छौ ।’
परशुराम नगरपालिकाका प्रवक्ता खगेन्द्रबहादुर सिँहले नगरपालिकाले दुर्गम बस्तीको रुपमा रहेको मलास क्षेत्रलाई प्राथमिकतामा राखेर विकास निर्माणका योजनाहरु कार्यान्वयन भइरहेको बताए । उनले चुरे श्रृंखलामा रहेको दुर्गम मलास क्षेत्रका बस्तीहरुमा खानेपानी योजना निर्माणका लागि नगरपालिकाले बिभिन्न दातृ निकायहरुसँग छलफल गरिरहेको जानकारी दिए ।
परशुराम नगरपालिकाका नगरप्रमुख भरत बडायर जोशीले मलास क्षेत्रका केहि बस्तीहरुमा खानेपानी योजना निर्माण भइसकेको बताउँदै काजिगडा, दधिगडा, बस्न्यौटा र खोरिया बस्तीमा खानेपानी योजना निर्माणका लागि अन्य निकायबाट बजेट प्राप्त हुन नसकेमा नगरपालिकाबाट बजेट बिनियोजन गरिने जानकारी दिए ।
You might also like