१२ माघ
पशुजन्य उत्पादनको हिसावले डडेल्धुरा जिल्ला पछिल्लो समयमा आत्मनिर्भर बन्दै गईरहेको छ । पशुजन्य उत्पादन अन्तर्गत पर्ने दुध र माशु डडेल्धुरा जिल्लाले छिमेकी जिल्लाहरु लाई निर्यात गरिरहेको छ भने केही हद सम्म ब्रोईलर कुखुरा तथा माछा आयात गरिरहेकोछ ।
पछिल्लो समय गाई भैसी पकेट क्षेत्रको अवधारणामा कार्यक्रमहरु संञ्चालन भए पछि डडेल्धुराको भित्रि मधेशको परशुराम नगरपालिका र आलिताल गाँउपालिकामा उत्पादन भएको दुग्धजन्य पदार्थ कैलालीको अत्तरिया स्थित दुग्ध विकास संस्थान तथा खप्तड डेरी मार्फत नेपालगंज, बुटवल तथा काठमाण्डौ सम्म निर्यात गर्न थालिएको भेटेनरि अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र डडेल्धुराका पशुचिकित्सक देव राज भट्टले बताउनु भयो ।
मासुजन्य उत्पादनमा पनि ब्रोईलर कुखुरा बाहेक खसी , बोका , भैसी मा आयात भन्दा निर्यात धेरै भईरहेको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र डडेल्धुराले जनाएको छ । कार्यालयको तथ्यांक अनुसार आर्थिक बर्ष ०७७/७८ मा ११४६० मेट्रिक टन दुध उत्पादन भएको डडेल्धुरामा गत आर्थिक बर्षमा १३०११ मेट्रिक टन दुध उत्पादन भएको थियो भने यस आर्थिक बर्षको पहिलो चौमासिक अवधिमा ४६४६ मेट्रिक टन दुध उत्पादन भईसकेको तथ्यांक छ जसको ६० प्रतिसत भन्दा बढी निर्यात हुने कार्यालयले बताएको छ ।