राम धामी
डडेल्धुरा, ४ माघ
घरेलु हिंसाका कारण डडेल्धुराको आलिताल गाउँपालिका–८ डाँडाखर्कका आठ बर्षीय बालक भरत बोहराले ज्यान गुमाउनु परेको छ । आमा र सौतेनी आमाको निरन्तरको कुटपिटबाट मृत्यु भएका उनलाई खाल्डोमा पुरिएको अबस्थामा प्रहरीले उत्खनन गरेर शव निकालेको हो ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराले निरन्तरको घरेलु हिंसाका कारण विक्षिप्त अबस्थामा रहेकी मृतककी आमा ४३ बर्षीय कलमति बोहरा र सौतेनी आमा ३० बर्षीय जानकी बोहरालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । मृतक बालकका बाबु ४१ बर्षीय गजेन्द्र बोहराको किटानी जाहेरीका आधारमा प्रहरीले हत्या अभियोगमा आमा र सौतेनी आमालाई पक्राउ गरेको हो ।
मृतक बालकको शव पुस ३० गते खाल्टोमा गाडिएको अवस्थामा प्रहरीले फेला पारेको थियो । सौतेनी आमा जानकीले आमा कलमति समेतको सहयोगमा निरन्तर कुटपिट गर्न थालेपछि मृतक बालक घरमा जानुको साटो छिमेकी दलबहादुर बिष्टको घरमा लुकेर बस्ने गरेको स्थानीय बताउछन । गत पुस पुष १२ गतेदेखि उनी बेपत्ता भए ।
आफ्नो घरमा नियमित आउने मृतक भरतलाई नदेखेपछि विष्टले घर परिवारमा सोधपुछ गर्दा आमा र सौतेनी आमाले उल्टै बिष्टलाई बालकको हत्या गरेको आरोप लगाएका थिए । बिष्टले मृतक बालकको खोजबिनका लागि आलिताल प्रहरी चौकीलाई आग्रह गरेपछि प्रहरीले अनुसन्धान गर्दा बालकको हत्या गरेर घरभन्दा करिब ५० मिटर टाढा खाल्डोमा गाडिएको अवस्थामा पुस ३० गते भरतको शव फेला पारेको हो ।
भरतलाई सौतेनी आमा जानकीले सधैं सिस्नो पानी र लठ्ठीले कुट्ने गरेको स्थानीय बताउछन । गरिव परिवारमा जन्मिएका भरतलाई खाना भन्दा पनि दिनहुँ कुटाइ मिल्थ्यो । अवोध बालक भरतले निरन्तरको कुटाईका कारण रुन÷कराउन समेत छोडिसकेको स्थानीय बताउछन । डरका कारण उनी घर नगएर छिमेकी बिष्टको घरमा लुक्ने गरेका हुन । पौष १२ गते साँझ पनि सौतेनी आमा जानकीले सिस्नो पानी र उखुको लठ्ठीले कुटपिट गरि पानीमा डुबाएर उमृतक बालकलाई घरको एक कोठामा अचेत अवस्थामा छोडेका थिए ।
मृतककी आमा कलमतिले प्रहरी समझ दिएको बयान अनुसार राति १२ बजे बालकलाई हेर्दा जिउँदो नरहेको जस्तो लागेपछि जानकीकै सल्लाहमा घरभन्दा ५० मिटर टाढा खाल्टो खनेर भरतको शव खाडलमा गाडिएको हो । निरन्तरको घरेलु हिंसा खप्नु परेकाले कलमति मानशिक रुपमा विक्षिप्त रहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरु बताउछन ।
स्रोतका अनुसार सौता जानकी र श्रीमान गजेन्द्रले दिएको यातना सहन नसकेर उनी चार÷पाँच वर्ष माइती घर बसेकी थिइन् । उनका श्रीमान गजेन्द्र र सौता जानकीले उनलाई मरणासन्न हुने गरी कुटपिट गर्ने गरेको स्थानीय बताउछन । जानकीले कलमतिमाथि घरेलु हतियार र लठ्ठीले प्रहार गरेका घाउ अझै उनको शरिरमा देख्न सकिन्छ ।
घटनाले मानविय सम्वेदना माथि नै गम्भीर प्रश्न चिन्ह उठाएको बेलामा जिल्ला प्रहरी कार्यालय डडेल्धुराले घटनाको विस्तृत अनुसन्धान गरेर वास्तविक तथ्यहरू सार्वजनिक गर्नु पर्ने स्थानीयको माग छ । झन्डै चार वर्ष पहिले बलात्कारपछि जघन्य हत्या गरिएकी शहरी स्वास्थ्य सेवा केन्द्र परशुराम नगरपालिका–८ की अस्मिता धामी हत्या प्रकरणमा अनुसन्धान गर्न असफल रहेको डडेल्धुरा प्रहरीले भरतको हत्या सम्बन्धि तथ्यहरू ल्याउन सक्नेमा भने आशंका गरिएको छ ।
रोजगारको सिलसिलामा भारत रहेका श्रीमान गजेन्द्रले पनि ‘म घरमा आउँदा सम्म तेरो छोरा नमारे तलाई मार्ने’ भन्दै जेठी श्रीमतिलाई धम्काउँने गर्थे । सोही अनुरूप कलमतिले उनीहरुले सहन नसक्ने यातना दिएपछि बालकलाई कुट्ने गरेको बयान प्रहरी समक्ष दिएकी छिन् । स्थानीयका अनुसार मृतकका बुबा गजेन्द्रले भारतबाट कान्छी श्रीमती जानकीलाई फोन गरेर बालकलाई कुटपिट गर्न सिकाउने गरेका थिए । उनले सुझाए अनुसार बालकलाई सिस्नो पानी र लठ्ठीले कुट्ने गरेको प्रहरी समक्ष कलमतिले ले बयान दिएकी छिन् ।
पौष १२ गते साँझ दुवै सौता मिलि बालकलाई सिस्नो पानी र उखुको लठ्ठीले कुटपिट गरेका थिए । कुटपिटबाट अचेत अबस्थामा रहेका बालकलाई आमा कलमतिसँगै सुताइएको थियो । राति १२ बजे बालकलाई हेर्दा जिउँदो नरहेको जस्तो लागेपछि कलमतिले सौता जानकीलाई बोलाएर घटनाको बारेमा जानकारी दिएकी थिइन् । त्यसपछि दुबै मिलेर बालकको शब गाडेको प्रहरीले जनाएको छ ।
कलमतिका मृतक भन्दा जेठा १४ बर्षीय अर्का छोरा पनि रहेको र निजले आमाहरुलाई बालकको बारेमा सोध्दा गाँउमा कसैको घरमा डुल्न गएको हुनसक्ने भन्दै दुबै सौताले घटनालाई सामसुम पार्न खोजेका थिए । बालक हराएको भनि पौष २७ गते मात्रै प्रहरी समक्ष जानकारी आएको आलिताल प्रहरी चौकीले जनाएको छ । स्थानीयहरु भने बालकलाई कुटपिट र चरम यातना दिने गरेको बारेमा प्रहरीलाई जानकारी दिएको तर प्रहरीले वास्ता नगरको बताउछन ।
बालकलाई दिनहुँको चरम यातना बारेमा प्रहरी चौकी आलितालमा छलफल भएको स्थानीय बताउछन् । गाउँलेले बालकलाई प्रहरीको जिम्मा लगाउँदा पनि प्रहरीले जिम्मा नलिएको आरोप छ । मृतक बालकका शरीर भरि कुटपिटका घाउसहितको तस्विर तीन महिना अघि समाजिक सञ्जालमा भाइरल समेत भएको थियो । प्रहरीले भने बालकलाई कुटपिट गरिएको बारेमा लिखित निबेदन नआएकाले कारबाहीको प्रक्रिया अघि बढाउन नसकिएको जनाएको छ ।
स्थानीय समैजी आधारभूत विद्यालयमा कक्षा १ मा अध्यययनरत बालक बोहराको हत्या प्रकरणमा उनका बाबु गजेन्द्रसमेत दोषी रहेको तर प्रहरीले उनलाई जाहेरीकर्ता बनाएकाले घटना अझ रहस्ष्यमयी देखिएको स्थानीय बताउछन । मानसिक रुपमा विक्षिप्त मृतककी आमा कलमतिलाई फसाउने गरेर हत्या प्रकरण मोडिने अबस्थामा पुगेको स्थानीयको गुनासो छ ।