१० पुष
डडेल्धुराको आलिताल गाउँपालिकाले खेलाडीहरू लगायत विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ। गाउँ सभाको १३औं अधिवेशनको अवसरमा पालिकाले यहाँका खेलाडी लगायत विभिन्न व्यक्तिहरुलाई नगदसहित सम्मान गरेको हो।
सम्मानित हुनेमा तेक्वान्दो खेलाडी झरना नाथ, सिर्जना रखाल, अस्मिता गाहामगर, मीन बोहरा, राजेन्द्र पन्त, वीरेन्द्र बोहरा रहेका छन्। तेक्वान्दो खेलाडी झरना नाथले काठमाडौंमा भएको खुल्ला अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक र पोखरामा भएको नवौं राष्ट्रिय खेलकुदमा रजत पदक जितेकी थिइन्।
गाउँपालिकाले उनलाई नगद १० हजार रुपैयाँँसहित सम्मान गरेको अध्यक्ष शेरसिंह पार्कीले जानकारी दिए। सिर्जनाले नवौं राष्ट्रिय खेलकुदमा रजत र अस्मिताले कास्य पदक जितेकी थिइन्। उनीहरूलाई नगद ५ हजार एकसय रुपैयाँँका साथ सम्मान गरिएको छ।
वीरेन्द्र, मीन र राजेन्द्रले काठमाडौंमा सम्पन्न खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दोमा सहभागिता जनाएका थिए। उक्त प्रतियोगितामा वीरेन्द्रले कास्य पदक जितेका थिए। उनीहरूलाई पनि नगद ५ हजार १ सय रुपैयाँँसहित सम्मान गरिएको अध्यक्ष पार्कीले बताए।
गाउँपालिकाले तेक्वान्दो प्रशिक्षक राजेन्द्र मडै र सहायक प्रशिक्षक शेरबहादुर सलामीलाई पनि सम्मान गरेको छ। यसैगरी गाउँसभाका अवसरमा प्रशासकीय अधिकृत ईन्द्रबहादुर रावल र लेखापाल पारशमणि साउदलाई उत्कृष्ट कर्मचारीका रूपमा सम्मान गरिएको छ।