३ पुस
नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालय सानेपामा बोलाइएको हो ।
बैठकमा संसदीय दलको निर्वाचन, नयाँ सरकार गठनको तयारी लगायतका विविध विषयमा छलफल हुने बताइएको छ । कांग्रेस संसदीय दलको विधानको व्यवस्था अनुसार केन्द्रीय समितिले संसदीय दलको नेताको चुनावका लागि एक निर्वाचन समिति बनाउनुपर्ने व्यवस्था छ । आजको बैठकले सो विषयमा निर्णय गरेर चुनावको मिति तय गर्ने सम्भावना रहेको पनि बताइएको छ ।
कांग्रेसले आगामी बुधबार सम्ममा संसदीय दलको नेताका लागि चुनाव गर्ने तयारी गरेको छ । कांग्रेसमा सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, नेता डा.शेखर कोइरालालगायतले संसदीय दलको नेतामा दाबी गर्दै आएका छन् ।
प्रतिनिधि सभामा पहिलो दल कांग्रेसबाट ८९ जना सांसद निर्वाचित भएका छन् । कांग्रेसको विधानले पार्टीको संसदीय दलको नेतालाई भावी प्रधानमन्त्रीको उम्मेदवारको रूपमा सिफारिस गर्ने व्यवस्था गरेको छ ।
दलको नेताका लागि एकभन्दा बढीले दाबी गरेको अवस्थामा चुनाव हुनेछ । जसमा ५१ प्रतिशत मत प्राप्त गर्ने उम्मेदवार नै संसदीय दलको नेता चुनिने व्यवस्था छ ।