को हुन् बीबीसीको १०० प्रभावशाली र प्रेरणादायी महिलामा परेकी स्नेहा?

स्नेहा जवाले भारतकी सामाजिक अभियानकर्मी हुन्। उनको विवाह सन् २००० को डिसेम्बरमा भएको थियो। उनका अभिभावकले विवाहपछि थप दाइजोको माग पूरा गर्न सकेनन् । त्यसपछि स्नेहा जवालेका श्रीमान्‌ले उनीमाथि मट्टितेल छर्किएर आगो लगाइदिए।

त्यसपछि पनि स्नेहाको परिवारले प्रहरीमा उजुरी दिएनन्।  उनका पति आफैंले उनको छोरा लिएर स्नेहाला छाडेर गए। त्यसपछि उनले आफ्नो जीवन पुन: खडा गर्ने दृढ सङ्कल्प गरिन्। मानिसहरूलाई आफ्नो अनुहार देखाउन नपर्ने गरी उनी ट्यारोट कार्ड पढ्ने र पटकथा लेख्ने काम सुरु गरिन्।

जवाले अहिले सामाजिक अभियानकर्मी हुन्। उनलाई सन् २०१२ मा दिल्लीमा भएको सामूहिक बलात्कारको घटना र हिंसा भोगेकाहरूको अनुभवमा आधारित नाटक निर्भयामा अभिनय गर्ने अवसर जुर्‍यो। विश्वभरिका दर्शक सामु प्रस्तुति दिएपछि उनले आफूभित्रको डर जित्दै गइन्। 

उनी भन्छिन्, ‘पछिल्लो दश वर्षमा आगोले जलाइएका र एसिड आक्रमणका पीडितहरूलाई हेर्ने सामाजिक दृष्टिकोण केही परिवर्तन भएको छ। म आफूलाई कुनै मिस वर्ल्ड वा मिस युनिभर्सभन्दा कम आक्दिनँ। म सुन्दर छु र यो कुरा गर्वका साथ भन्न सक्छु।’

‘बीबीसी १०० महिला’ले हरेक वर्ष संसारभरिका १०० जना प्रभावशाली र प्रेरणादायी महिलाहरूको नाम प्रस्तुत गर्ने गर्दछ। यसमा ती १०० जनाको जीवनकाबारेमा डक्युमेन्ट्रीहरू, फिचरहरू र अन्तर्वार्ताहरू प्रस्तुत गरिन्छ। 
 
बीबीसीले सन् २०२२ का लागि विश्वभरिबाट १०० जना प्रेरणादायी र प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ।

जसमा विश्व सङ्गीतकी चर्चित व्यक्तित्व बिली आयलिस, युक्रेनकी प्रथम महिला ओलेना जेलेन्स्का, भारतकी स्नेहा जवाले, अभिनेत्री प्रियङ्का चोपडा  र सेल्मा ब्लेअर, रुसी पप गायिका अला पुगाचेभा, इरानी आरोही इल्नाज रेकाबी, कीर्तिमानी ट्रीपल जम्प खेलाडी युलिमार रोहास र घानाकी लेखिका नाना डार्कोका सेकिआमाह आदि छन्। 
 
बीबीसीले हरेक वर्ष विश्वभरका तल्लो तहका मुद्दाहरूमा काम गर्ने महिला स्वयंसेवकहरूबाट विश्वका महिला नेताहरूको कथा र उपलब्धी संसारसामु ल्याउँछ। सन् २०१२ मा दिल्ली सामूहिक बलात्कारपछि महिलासँग सम्बन्धित समाचार सञ्चारमाध्यममा प्रचारप्रसार गर्न ‘१०० महिला’ कार्यक्रम सुरु गरेको थियो ।

यो कार्यक्रम अहिले दशौं वर्षमा पुगेको छ । यस वर्षको कार्यक्रमको नारा ‘प्रगति’ रहेको छ ।  

-अन्नपूर्ण पोष्ट बाट

You might also like