२७ कार्तिक
डडेल्धुरा जिल्ला सदरमुकाम स्थित अमरगढी नगरपालिकाका दुई वटा वडामा गरिएको सर्वेक्षण अनुसार नगरपालिका भित्रको ३५ प्रतिशत घरहरु जोखिममा रहेको पाइएको छ । अमरगढी नगरपालिका वडा नं.५ र ७ का एक हजार बढी घरहरुमा सर्वेक्षण गर्दा भौगोलिक बनावट, चर्किएका, एक आपसमा टाँसिएका लगायतका हिसाबले भुकम्पिय जोखिममा रहेको पाइएको हो ।
यी दुई वटा वडामा सञ्चालित शहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजनाको प्राबिधिक टोलीले गरेको सर्वेक्षणमा जोखिम देखिए पछि चार वटा घर प्रवलिकरण (रेट्रो फिटिङ्ग) गरिने परियोजना संयोजक मदनराज आचार्यले बताए ।
भुकम्प लगायत प्राकृतिक विपतिबाट जोखिम कम गर्न भुकम्प प्रतिरोधि घर र भौतिक संरचनाहरु बनाउनु पर्ने परियोजनाका ईञ्जिनियर प्रशान्त खनालले बताए । यी वडाहरुमा अधिकांस घर नक्सा पास नै नगरि मापदण्ड विपरित बनाईएको, अधिकांस घरहरु पुरानो, माटो र गाहेले बनेका कारण जोखिममा रहेको उनले बताए ।
अमरगढी नगरपालिकाको वडा नं.५ र ७ मा परियोजनाले पहिरो, आगलागि र भुकम्पिय जोखिमबाट हुने क्षतीमा कमि ल्याउन काम गरिरहेको छ । परियोजनाले हाल सम्म घरको सर्वेक्षण संगै पहिरो र आगलागि हुने क्षेत्र र जोखिम युक्त क्षेत्रको नक्सांकन गरेको छ । दुई वटै वडामा चार सय युवाहरुलाई खोज तथा उद्दार, प्राथमिक उपचारको तालिम दिई स्वयं सेवक बनाएको छ ।
यस संगै परियोजनाले प्राकृतिक विपतिबाट हुने जोखिम कम गर्न टोलवस्तिका स्थानीयलाई सचेत गराई रहेको स्थानीय साझेदार संस्था ग्रामिण महिला विकास तथा एकता केन्द्र रुडुकका कार्यकारि निर्देशक अमर बहादुर साउदले जानकारी दिए ।