१६ कार्तिक
देवभुमी सुदुरपश्चिम बेलौरी-बैतडी धार्मिक पर्यटन साईकल यात्रा २०७९ आज कन्चनपुरको बेलौरी बाट सुरु भएको छ । केहि समय पहिले ११ दिनमा मेची-महाकाली साईकल यात्रा सम्पन्न गरि नेपालकै कान्छो मेची-महाकाली साईकल यात्रीको रुपमा चर्चा कमाउन सफल कञ्चनपुर बेलौरीका रमित भट्ट अर्को साईकल यात्राका लागी निस्किएका हुन ।
आज विहान १० बजे बेलौरीको शिद्धवावा मन्दिर बाट साईकलयात्री रमितको टोली लाई कन्चनपुर क्षेत्र नं.१ को प्रदेश सभा “ख” का लागी स्वतन्त्र उम्मेदवार टेक साउद, तथा साईकल यात्री अध्ययनरत विद्यालय बात्सल्य निकेतन, बेलौरी , कञ्चनपुरका प्रिन्सिपल लक्षमण सिँ दियाल लगायतका स्थानियहरुले विदाई गरेका थिए ।
बात्सल्य निकेतन, बेलौरी , कञ्चनपुरमा कक्षा ७ मा अध्ययन गरिरहेका रमित “स्वर्धम र सस्कृतिको रक्षा गरौँ , साईक्लिंग गरौँ, स्वस्थ्य रहौँ र कुलत दुव्र्यसन निर्मुल गरौँ।” भन्ने मुल नाराका साथ आन्तरिक तथा धार्मिक पर्यटन प्रवद्र्धनका लागी आफ्ना बुबा दिपक भट्ट संग देवभुमी सुदुरपश्चिम बेलौरी-बैतडी धार्मिक पर्यटन साईकल यात्रा २०७९ मा निस्केका हुन ।
करिव ३५० किलोमिटरको अनुमानित साईकलयात्रामा सिद्धबाबा मन्दिर-बेलौरी-कंचनपुर , गोदाबरी धाम-कैलाली , उग्रतारा मन्दिर-डडेलधुरा, मेलौली भगवती मन्दिर-बैतडी, उदयदेव मन्दिर-बैतडी,पाताल भुमेश्वर गुफा-बैतडी, भुमिराज मन्दिर-बैतडी र त्रीपुरा सुन्दरी मन्दिर-बैतडी सम्मको साईकल यात्रा हुने अनुमान गरिएको छ ।
रमितका साथ साईकल यात्रामा निस्किएका दिपक भट्ट रमितको मेचि-महाकाली साईकल यात्रामा पनि संगै थिए ।