१३ कार्तिक
आज विहान करिव ३ वजे तिर पाल्पाको रम्भा गाउँपालिका–१, हुँगीबाट गोरखाको मनकामना दर्शनका लागि जाँदै गरेको बस नवलपरासी पूर्वको बुलिङटारमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बुलिङटार–२, मथारमा भएको दुर्घटनामा २८ जना घाइते भएको इलाका प्रहरी कार्यालय डेढ गाउँले जनाएको छ।
दुर्घटनामा रम्भा गाउँपालिका–१, हुँगीका ४१ वर्षीय तारा विक, १७ वर्षीय विनय विक, ६२ वर्षीय धनी विक, ५८ वर्षी देवी गाहा, स्याङजाको गल्याङ नगरपालिका–९ की ४५ वर्षीय फुलमाया विक रहेको प्रहरीले जनाएको छ । ना ६ ख ७५८० नम्बरको बस अनियन्त्रित भई सडकबाट झन्डै सय मिटर तल भीरमा अड्किएको छ । घाइतेको स्थानीय र प्रहरीले उद्धार गरेर अस्पताल पठाएका छन् ।
दुर्घटनाका घाइतेलाई नारायणी सामुदायिक अस्पताल भरतपुर चितवन पठाइएको छ । रामपुर यातायात प्रालिका दुई वटा बस मनकामना दर्शनका लागि शनिबार बेलुकी हुँगीबाट रिजर्भमा गएका थिए । त्यसमध्ये पछाडि गुडेको बस दुर्घटनामा परेको थियो ।
घटनास्थलनमा रहेका रामपुरका स्थानीय पत्रकार प्रकाश ज्ञवालीका अनुसार आइतबार बिहान ३ बजेको समयमा कालीगण्डकी करिडोर अन्तर्गत सडकमा बस दुर्घटनामा परेको हो । हुँगीबाट राति ९ बजे मनकामना दर्शनका लागि हिँडेका थिए ।
रम्भा गाउँपालिकाको हुँगीस्थित च्याङलिङ, नौगाउँ, बिसौना, गैरी र साठी क्षेत्रबाट मनकामना दर्शनका लागि जाँदै गरेको अवस्थामा दुईमध्ये एउटा बस दुर्घटनामा परेको स्थानीय घाइते ओमबहादुर विकले जानकारी दिए ।
घटनास्थलमा रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारी, वडाध्यक्ष ईश्वर काफ्ले लगायत स्थानीय पुगेका छन् । गाउँपालिका अध्यक्ष भण्डारीले दुर्घटनाका घाइतेको उपचारमा उचित प्रबन्ध मिलाइने बताए ।
मृत्यु भएका सबैको पोस्टमार्टम पाल्पाको रामपुर अस्पतालमा हुने भएको प्रहरीले जनाएको छ ।
-कान्तिपुर