२४ असोज
नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई प्रहरीले सोमबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको छ । बलात्कार आरोपमा पक्राउ परेका लामिछानेलाई म्याद थपका लागि प्रहरीले आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको हो ।
जिल्ला अदालत काठमाण्डौका सूचना अधिकारी दीपक दाहालका अनुसार लामिछानेलाई केहीबेरअघि अदालतमा उपस्थित गराइएको थियो । अब लामिछानेलाई जिल्ला सरकारी वकिलको उपस्थितिमा प्रहरीले बयान लिने छ ।
लामिछानेलाई गत असोज २० गते प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बाट पक्राउ गरेको थियो । पक्राउपछि आरोपितलाई अदालतबाट थुनामा राख्ने अनुमति लिएपछि बयान प्रक्रिया अघि बढाउनुपर्नेमा दसैं बिदा परेकाले अदालत पनि बन्द भएकाले आज मात्र अदालतमा उपस्थित गराइएको हो ।
पक्राउलगत्तै प्रहरीले उनको स्वास्थ्य परीक्षण गराइसकेको छ ।
लामिछानेमाथि गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेको छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार उनीविरुद्ध मुलुकी अपराधसंहिता २०७४ को दफा २१९ अनुसार अनुसन्धान भइरहेको छ । उनीविरुद्धको कसुर पुष्टि भए १० देखि १२ वर्षसम्म कैद सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।
गत भदौ २१ मा एक नाबालिगले लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा काठमाडौं प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । जाहेरीमा उनले आफूलाई भदौ ५ मा गाडीमा राखेर नगरकोट पुर्याएको, त्यही साँझ अबेर फर्किएर तिलगंगाको एक होटलमा लगेर बलात्कार गरेको उल्लेख गरेकी छन् । होटलमा बसेको भोलिपल्टै लामिछाने केन्यासँग ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्न राजधानी नैरोबी प्रस्थान गरेका थिए ।