कैलालीमा पुस्करनाथ ओझा स्वतन्त्र लड्न सक्ने संकेत

२१ असोज
नेपाली काँग्रेसको कारबाहीमा परेका नेता पुष्करनाथ ओझाले अगामी संसदीय चुनावमा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन्। निर्वाचन आयोगले पर्सी आगामी (आइतबार) उम्मेदवार मनोनयन दर्ताको समय तोकेकाले ओझाले स्वतन्त्र उम्मेदवारी दिने विषयमा निकटस्थहरुसँग छलफल थालेका छन्। उनले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट चुनाव लड्न तयारी थालिसकेको बताइएको छ।
धनगढी स्थित रुवस होटलमा ओझा अहिले आफ्ना निकटस्थहरु सँग छलफलमा छन्। उनले चुनावी रणनीतिबारे परामर्श गरिरहेको स्रोतले जानकारी दिएको छ। ओझाले छलफलमा आउने सुझावका आधारमा आवश्यक निर्णय लिएर आज ३ बजे सम्म पत्रकार सम्मेलन मार्फत उम्मेदवारी घोषणा गर्ने तयारी गरेको बताइएको छ।
२०७४ सालको प्रतिनिधिसभा चुनावमा आकांक्षी रहेका ओझा काँग्रेस सभापति शेरबहादुर देउवाले पत्नी आरजु राणालाई टिकट दिएपछि ओझा रुष्ट बनेका थिए। आरजु नेकपा एमालेका नारदमुनी रानासँग पराजित भएपछि चुनावमा असहयोग गरेको भन्दै नेपाली कांग्रेसले उनलाई कारबाही गरेको थियो।
प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि कैलाली–५ बाट एकल सिफारिसमा परेका आरजुले ओझाको साथ नपाउने देखेपछि समानुपातिक रोजेकी छन्। यो बीचमा ओझालाई फकाउने प्रयास समेत असफल भएका थिए। उनी समानुपातिक सूचीमा परेपछि कैलाली–५ मा नेपाली कांग्रेसले ओझामाथिको कारवाही फुकुवा गरेर टिकट दिने चर्चा चलेको थियो।
तर बालुवाटारले भने पूर्व सुदूरपश्चिम प्रदेशसभा सदस्य डिल्लीराज पन्तलाई प्रतिनिधिसभा सदस्यको चुनाव लड्न तयारी गर्न भनिसकेकाले त्यो सम्भावना नरहेको नेताहरु बताउँछन्। प्रदेशसभा ‘ख’ तर्फ भने आरजुले आफ्ना स्वकीय सचिव सचिव रहेका भतिजा प्रकाश देउवालाई लडाउने तयारी गरेकी छन्।
You might also like