ए मेरा गणितका गुरू!
मैले घोकेका साध्य र ज्यामितीहरू
आयतन र परिमितीहरू
अनि ती बिजगणितका डरलाग्दा
ए र बि का सूत्रहरू
खै कहाँ निर काम लाग्छन् ?
जो बिराउदा कैयौ चोट पाएका थिए यी हातहरुले
कैयौ मुर्गा बनाइएका थिए चौरमा
कैयौ पटक त उभ्याइएको थियो डेस्कमाथि
र जबर्जस्ती जान्ने बनाइएको थियो मलाई
मानौकी मेरो जिन्दगी अब फलिफापको बाटोमा अगाडि लाग्यो
तर अचेल मलाई हजारबार जिन्दगीले फेल घोषणा गर्छ,
हिसाब मिल्दै मिल्दैन जिन्दगीको ?
गुरू कुन सुत्र प्रयोग गरूँ म ?
बाको रसिला आँखाको आयतन कसरी निकाल्नू?
आमाका हातको ठेलाको घनत्व कसरी नाप्नु र ?
पृयको अभाब र छोराको भोकको क्षेत्रफल निकाल्ने सूत्र के हो गुरु ?
हजुरआमाको लौरी कुन सूत्रले अड्याउने ?
माइनस् माइनस् प्लस हुने सुत्रमा
दुख दुख सुख हुन नसकेर फेरि दुख नै हुनु पर्ने ?
आसु आसुु हासो नभएर पुनः आसु नै हुनु पर्ने ?
यो कुन गणितको सुत्र हो गुरु ?
जो मलाई सिकाउदै सिकाइएन।
ब्ल्याकबोर्डमा त त्रिभुज र चतुर्भुज खुब नापियो
भित्री कोण र बाहिरी कोण पनि नापियो
डिग्री डिग्रीमा नापियो
एन्गल एन्गलमा नापियो
तर जिन्दगी त हजारौ भुजाले बन्दो रहेछ
न नापिन्छ न त देखिन्छ कुनै दृश्यमा
न लेखिन्छ न त छापिन्छ कुनै पानामा
भित्री कोण र बाहिरी कोण मात्र कहाँ
रहश्य र जालझेलका करोडौ कोण हुदा रैछन्
घात र प्रतिघातका अनगिन्ती एंगल हुदा रैछन्
जसलाई नजरन्दाज सम्म गराइएन कि
तैले यसरी पनि बाच्नु पर्छ भनेर।
सिंगो परिवार बन्धकीमा राखेर
हरियो पासपोर्ट बोकेर परदेश हिडेको
लाहुरेको गरूंगो पाइलाको तौल कुन ग्रामले नाप्छ ?
त्यो बिछोडिदाको मुटुको गति कुन मिटरले नाप्छ ?
ती झरेका आशु कुन लिटरले नाप्छ ?
त्यो चोटको गहिराई कुन इकाइले नाप्छ ?
गुरू यसका कुनै सूत्र भेटेन
ए मेरा गणितका गुरू !
मलाई माफ गर्नुहोस् है
तपाईको गणितमा जसोतसो उत्तिर्ण भएको म
तर जिन्दगीको गणितमा
लज्जास्पद तरिकाले उत्तरित पनि हुन नसकेर
लत्तारित भैरहेको छु !
मिल्छ भने भाइ बहिनीहरूलाई
गणितसँग जिन्दगी को अलिकति हिसाब पनि
थोरै थोरै सिकाइदिनुस् न है।।।
अमरगढी ८ कीर्तिपुर, डडेल्धुरा
हाल साईतामा, जापान