११ असोज
आसन्न ४ मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि डडेल्धुरामा ९ सय बढी म्यादी प्रहरी खटाइने भएको छ। स्थानीय तह निर्वाचनमा साढे ६ सय म्यादी प्रहरी खटाइएकोमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि भने ९ सय ३७ जना म्यादी प्रहरी खटाइने जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार यसपटक मतदानस्थल पनि थप भएकाले म्यादी प्रहरीको संख्या पनि बढ्ने भएको हो। ‘अहिले म्यादी प्रहरीका लागि आवेदन दिएकाहरुको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती सम्बन्धि परीक्षा सञ्चालन भइरहेको छ, उनले भने, ‘त्यसको नतिजा आज साँझै नै निकाल्ने तयारी छ ।
उक्त परीक्षामा उत्तिर्ण भएका आवेदकको लिखित परीक्षा भने १२ गते सञ्चालन हुने र त्यसको नतिजा १३ गते सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय डडेल्धुराले सार्वजनिक गरेको सूचनामा उल्लेख छ।
१४ गते स्वास्थ्य परीक्षणसंगै अन्तर्वार्ता पनि सञ्चालन गरिने छ। छनोट भएका म्यादीलाई असोज २७ र २८ मा नियुक्तिपत्र दिइने र असोज ३० बाट कात्तिक ८ सम्म तालिम सम्पन्न गरी त्यसको भोलिपल्टबाट प्रहरीको नेतृत्वमा सुरक्षा ड्युटीमा खटाइने जनाइएको छ। उनीहरूलाई निर्वाचन सकिएको ४ दिनपछि मंसिर ८ मा प्रमाणपत्र दिएर बिदाइ गर्ने तालिका तय भएको प्रहरीले जनाएको छ।