म्यादी प्रहरी भर्ना: एक लाख ६३ हजार फ्रेस आवेदक, ६७ हजारसँग पहिला काम गरेको अनुभव

९ असोज
मंसिर ४ गते हुन लागेको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि भर्ना थालिएको म्यादी प्रहरीमा आवेदन दिनेमध्ये एक लाख ६३ हजार जना यसअघि सुरक्षा व्यवस्थापनमा अनुभव नरहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ। एक लाख १५ हजार म्यादी प्रहरीका लागि देशभरबाट २ लाख ३३ हजार एक सय ९ जनाको आवेदन परेको छ। तीमध्ये ६७ हजार २ सय ४० जनाले यसअघि म्यादी प्रहरीका रुपमा काम गरेको प्रहरी प्रधान कार्यालय ले जनाएको छ ।

यस्तै एक हजार ४ सय ५९ पूर्व सैनिक, ८ सय ६५ पूर्व प्रहरी र २ सय ५१ जना पूर्व शसस्त्र प्रहरीले पनि आवेदन दिएका छन्। १४ जना बन रक्षक, विदेशका सुरक्षा निकायमा काम गरेका एक सय ४४ जना र नेपालकै सुरक्षा निकायमा भर्नाका लागि छनोट प्रकृयामा रहेका एक सय २२ जनाले पनि आवेदन दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। पूर्व म्यादी र पूर्व सुरक्षाकर्मी आवेदक रहेको संख्या ७० हजार ९५ रहेको छ।

यसअघि सुरक्षा व्यवस्थापनमा काम गरेको अनुभव नरहेका आवेदकमध्ये ४० हजार ९ सय ६० जना महिला र एक लाख २२ हजार ५४ जना पुरुष रहेका छन्। म्यादी प्रहरीका कुल आवेदकमा ६० हजार ५ सय ८७ महिला र एक लाख ७२ हजार ५ सय २२ जना पुरुष रहेका छन्।
गत बैशाखमा सम्पन्न स्थानीय निर्वाचनभन्दा यसपटक कम आवेदन परेको छ। स्थानीय निर्वाचनमा एक लाख म्यादी प्रहरीका लागि देशभरबाट २ लाख ९३ हजारको आवेदन परेको थियो। झन्डै ६० हजार कम आवेदन यसपटक परेको छ। प्रहरी प्रधान कार्यालयले म्यादी भर्नामा पूर्व म्यादी र पूर्व सुरक्षाकर्मीलाई पहिलो प्राथमिकता हुने जनाएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.