अनसनरत डाक्टर केसीलाई धनगढी बाट काठमाडौं लैजाने तयारी

४ असोज

गेटा मेडिकल कलेज तत्काल सुरु गर्नुपर्ने तथा मेडिकल क्षेत्रको विकृति हटाउनुपर्ने भन्दै विभिन्न माग सहित सुदुरपश्चिमको धनगढीमा विगत ९ दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीलाई काठमाडौं लग्ने तयारी भएको छ। विभिन्न ७ बुँदे माग राख्दै सत्याग्रह बस्नका लागि डाक्टर केसी धनगढी पुगेका थिए।

सुरुमा धनगढीको कृष्ण मन्दिरमा अनशन बसेका डाक्टर केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई सेती प्रादेशिक अस्पतालमा राखिएको छ। तर, उनको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि आज काठमाडौं लग्न लागिएको हो।

स्वास्थ्य मन्त्रालयको आग्रहमा गृह मन्त्रालयले डा केसीलाई काठमाडौं लैजाने तयारी भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। नेपाली सेनाको स्काइ ट्रकमार्फत २ बजे उनलाई काठमाडौं लगिने प्रशासनले जनाएको छ।
सेती अस्पतालले सोमबार नै डाक्टर केसीलाई विशेषज्ञ सेवा भएको विशिष्टिकृत अस्पताल लैजान आग्रह गरेको थियो।


केही समय पहिले मात्र सुदुरप्रश्चिम प्रदेश सरकार समाजिक विकास मन्त्रि गोबिन्द बोहराले डा.के.सी. लाई भेट्नु भएको थियो । आफ्नो क्षेत्रात्रिकारभित्र पर्ने मागहरु सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको मन्त्री बोहराले बताए। ‘डाक्टर केसीले उठाएका मागहरुप्रति हाम्रो सहानुभूति छ,’ उनले भने, ‘प्रदेश सरकारको क्षेत्राधिकार भित्र पर्ने मागहरु सम्बोधन गर्न हामी प्रयास गर्छौ।’

अस्पतालमै रहेका केसीलाई भेट्नका लागि मंगरबार प्रदेश सरकारको टोली पुगेको थियो। सामाजिक विकास मन्त्री बोहरासहित प्रदेश सचिव दीपक लामिछाने, सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर जगदिश जोशी लगायत प्रदेश सरकारको टोली सेतीमा प्रादेशिक अस्पतालमा पुगेको हो।

मन्त्रीसमेतको टोलीले डाक्टर केसीको स्वास्थ्य अवस्था बुझ्दै थप उपचारका लागि बाहिर लग्न पनि सहयोग गर्ने जनाएको छ। साथै उनले उठाएका मागहरु संघीय सरकारले सम्बोधन गर्न आफूले आग्रह गरेको सामाजिक विकास मन्त्री बोहराले बताए। ‘हाम्रो कार्य क्षेत्र बाहिरका मागहरु छन्। संघीय सरकारले उक्त माग पुरा गर्नुपर्छ,’ मन्त्री बोहराले भने।

You might also like