२,असोज ,डडेल्धुरा
“विश्व आत्महत्या रोकथाम दिवस” का अवसर पारेर डडेल्धुरा जिल्ला सदरमुकाममा आत्महत्या न्यूनिकरण सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ । जिल्ला स्थित सुरक्षा निकाय, सामाजिक संघसंस्थाका प्रतिनिधिहरु, राष्ट्रसेवक कर्मचारी, विद्यार्थिहरुको उपस्थितीमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
आत्महत्या रोकथाम सम्बन्धी देशव्यापी सचेतना कार्यक्रमको अवधारणा २०७९ू अन्तर्गत बढ्दो आत्महत्या दरलाई न्युनिकरण गर्न आम नागरिकलाई सुसूचित गराउने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमको दौरान डडेल्धुरा सदरमुकाम बागबजारबाट व्यानर तथा प्लेकार्ड सहितको रयाली अमरगढी नगरपालिकाको सभाकक्षमा पुगेर औपचारिक कार्यक्रममा बदलिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक मनोहर प्रसाद भट्टको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अमरगढी नगरपालिका प्रमुख डिल्लीराज जोशी प्रमुख अतिथि हुनुहुन्थ्यो भने प्रमुख जिल्ला अधिकारी मोहन राज जोशी विशिष्ठ अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो ।
उक्त कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधीहरु, स्थानिय जनप्रतिनिधीहरु, स्वास्थ्यकर्मी, बिभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरु, पत्रकार, बिभिन्न बिद्यालयका शिक्षक तथा बिद्यार्थीहरूको उपस्थिति थिए ।
उक्त कार्यक्रममा प्रस्तुत भए अनुसार आर्थिक वर्ष २०७६—०७७ मा ३०, ०७७—०७८ मा ४२ र गत आर्थिक वर्ष ०७८—०७९ मा २७ जनाले आत्महत्या गरेका छन्।
प्रहरी तथ्यांकले डडेल्धुरामा मासिक तीन जनाले आत्महत्या गरेको देखाएको छ। पछिल्लो तीन आर्थिक वर्ष र चालू आर्थिक वर्षको तथ्यांक हेर्दा औसतमा तीन जनाले एक महिनामा आत्महत्या गरेको पाइएको हो।
चालू आर्थिक वर्षका दुई महिनामा ६ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए। चालू आर्थिक वर्षमा जिल्लाको आलिताल गाउँपालिकाका २, अमरगढी, परशुराम अजयमेरु र गन्यापधुरा गाउँपालिकाका एक÷एक जनाले आत्महत्या गरेका छन्,’ उनले भने।
यस्तै जिल्लामा सञ्चालमा रहेको समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आत्महत्या रोकथाम सम्बन्धि सचेतामूलक कार्यक्रम जिल्ला सदरमुकाममा सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालयको आयोजना र जिल्ला प्रशासन कार्यालयको समन्वयमा सचेतामूलक कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि तथा अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशीले बेरोजगारीको समस्याले आत्महत्याको ग्राफ बढ्दै गएको बताए। ‘कुनै पनि व्यक्ति रोजगार हुँदा काममा व्यस्त हुन्छ र आत्महत्याबारे सोच्न नै पाउँदैन,’ नगरप्रमुख जोशीले भने, ‘तर बेरोजगारीका कारण नकरात्मक सोच उत्पन्न हुने र सोही कारणले आत्महत्या पनि बढेको देखिन्छ। रोकथामका लागि सचेतनामा पनि जोड दिन आवश्यक छ।’
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले आत्महत्याको कारण खोज्न जरुरी रहेको बताए। ‘पछिल्लो समय प्रविधिको उपयोग नभइ दुरुपयोग बढेको छ,’ प्रमुख जिल्ला अधिकारी जोशीले भने, ‘आत्महत्या बढ्नुमा प्रविधिको दुरुपयोग पनि हुनसक्छ। यसबाहेक आत्महत्याका थुप्रै कारण छन्। ती कारणको पहिचान गरेर न्यूनीकरणतर्फ लाग्न आवश्यक छ।’
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरिक्षक भट्टले आत्महत्या समाजमा डरलाग्दो रुपमा देखा परेको बताए। ‘कोरोना भाइरसको महामारीपछि आत्महत्याको ग्राफ झनै बढेको छ,’ प्रहरी नायव उपरिक्षक भट्टले भने, ‘अन्य जिल्लाको तुलनामा डडेल्धुरामा आत्महत्या गर्नेको संख्या कम छ। तर बढ्दो क्रममा छ।’ उनले सबै पक्ष मिलेर आत्महत्याविरुद्ध सचेतना जगाउदै रोकथाम गर्न सकिनेमा जोड दिए।