डडेल्धुरा सदरमुकामको सडक चौडा पार्ने प्रक्रिया बढ्यो, मुआब्जाका लागि पहिलो चरणमा २० करोड

तस्विर : सामाजिक संञ्जाल

२९ भदौ, डडेल्धुरा
सुदुरपश्चिमको पहाडी जिल्लाको केन्द्र मानिने डडेल्धुरा सदरमुकामको सडक स्तरोन्नतिको काम अगाडि बढाउने प्रक्रिया थालिएको छ। अर्थ मन्त्रालयले सडक क्षेत्रमा पर्ने भौतिक संरचनाको मुआब्जा वितरण गर्न पहिलो चरणमा २० करोड रकम सडक डिभिजन कार्यालय कुलपाते डोटीलाई उपलब्ध गराउने निर्णय गरेको छ।

अर्थ मन्त्रालयले बुधबार महालेखा परीक्षकको कार्यालयलाई पत्र लेख्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको रकमान्तर गर्ने निर्णयलाई स्वीकृत गर्दै कार्यान्वयन गर्न अनुरोध गरेको हो। यसअघि अर्थ मन्त्रालयले २० करोडको स्रोत सहमति दिएकोमा बुधबार २० करोड रकमान्तर गर्दै कार्यान्वयनका लागि महालेखालाई आग्रह गरेको हो।

मुआब्जाका लागि ८५ करोड ६५ लाख बजेट आवश्यक पर्ने देखिन्छ। अब मुआब्जाको बाँकी ६५ करोड चालू आर्थिक वर्षकै तेस्रो चौमासिकमा माग गर्न पत्राचार गरिएको सडक डिभिजन कार्यालय कुलपाते डोटीका इन्जिनियर योगेन्द्र अधिकारीले बताए।

यस अघि डडेल्धुरा सदरमुकाम बागबजारदेखि कीर्तिपुर सम्मको सडक फराकिलो बनाउनका लागि डिभिजन सडक कार्यालय कुलपाते डोटीले ४४ करोडको स्रोत सहमति पाइसकेको छ। दायाँबायाँ १५र१५ मिटर फराकिलो पार्नका लागि ४४ करोड रुपैयाँ बजेट विनियोजित गर्दै पहिलोपटक ०७७ जेठ ८ गते बोलपत्र आह्वान गरेको थियो।
डडेल्धुरा सदरमुकामको सडक स्तरोन्नती कार्यका लागी बेला बेलामा पहल गरिएको भए पनि विवादका कारण रोकिदै आएको थियो ।

You might also like