२१ भदौ , डडेल्धुरा
१४औँ मुक्त हलिया दिवसको अवसर पारेर दलित भुमि अधिकार युनियन डडेल्धुराले प्रधानमन्त्रि लाई ज्ञापन पत्र पेश गरेको छ । आज जिल्ला प्रशासन कार्यालय ज्ञापनपत्र हस्तान्तरण कार्यक्रमको आयोजना गरि प्रमुख जिल्ला अधिकारी मोहन राज जोशी मार्फत प्रधानमन्त्रि लाई ज्ञापन पत्र पेश गरिएको हो ।
दलित भुमि अधिकार युनियन डडेल्धुराका अध्यक्ष किरण जैरु द्धारा हस्ताक्षर गरिएको ज्ञापन पत्रमा भूमिहीनहरूलाई राज्यका तर्फबाट वितरण गरिने भूमिका सन्दर्भमा दलित भूमिहीन र कृषि बधुवा मजदुरहरू मुक्त हलियालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने, अहिले पनि कृषिमा संग्लन हुन इच्छुक दलित भूमिहीन, सुकुम्बासी र मुक्त हलियाहरूको लागि प्रति घरधुरीहरुको लागि वर्षभरी धान्ने कृषि योग्यजमीन, घर भएका र घर नभएका दुबै भूमिहीन परिवारको लागि जमिनको प्रवन्धसहित मुक्त हलिया पुनस्र्थापनाका भएका बस्तीहरूमा एकीकृत बस्ती विकास आयोजना सिफारिस गर्नुपर्ने उल्लेख छ ।
यस्तै, तत्काल प्रदेश सरकारको समन्वयमा छुट मुक्तहलियाहरुको तथ्यांक संकलन गरी उनीहरूलाई वर्गिकृत परिचयपत्र प्रदान गरी पुनस्र्थापनाको कार्यक्रम अगाडि बढाइयोस भनि उक्त ज्ञापनपत्रमा भनिएको छ, ‘मुक्त हलिया परिवारको लागि छोटो अवधिको अल्पकालीन सीप तालिम प्रदान गरेर बीउ पुँजी र औजार प्रदान गरेर तत्काल रोजगारीको अवसर सिर्जना गरियोस।’यसका साथै मुक्तहलियाका सन्तानको लागि १२ कक्षासम्म निःशुल्क शिक्षा सुनिश्चित गर्दै प्राविधिक शिक्षामा पहुँच वृद्धि गर्नुपर्ने, हरेक मुक्तहलिया बस्तीमा स्वास्थ्य केन्द्र वा स्वास्थ्यचौकीको र आधारभूत औषधिहरूको बन्दोबस्त गरी मुक्तहलियाका सन्तानका लागि सबै खाले खोपको प्रबन्ध गर्न दलित भूमि अधिकार युनियनले जोडदार माग गरेको छ ।
?उश्रप्रदेश सरकारको बजेट विनियोजनमा आफ्नो हिस्सासमेत थपेर हरेक हलिया बस्तीमा खानेपानी, बिजुली, सडक, टेलिफोन र इन्टरनेट नेटवक पुर्याउनुपर्ने, स्थानीय तहको सामाजिक तथा राजनीतिक नेतृत्वमा हलियाको पहुँचको लागि स्थानीय तहले कानुन ल्याएर २ प्रतिशत सीट सुनिश्चित गर्नुपर्ने जस्ता १० बुदे माग आफूहरूको रहेको अध्यक्ष जैरूको भनाइ छ ।
ज्ञापनपत्र बुझदै प्रमुख जिल्ला अधिकारी मोहन राज जोशीले आफुले यो ज्ञापन पत्र सक्दो चाडो प्रधानमन्त्रि कार्यालय लाई पठाईदिने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।