डडेल्धुरा–नेपथ्यले कर्णालीको सुसेली र सुस्केरालाई लामो अन्तरालपछि फेरि श्रोतासमक्ष प्रस्तुत गरेको छ। गीतको सूत्र फेला परेपछि दुई दशकसम्म लगातार त्यस भेगलाई पछ्याउँदै गायक अमृत गुरुङले तयार पारेको सिर्जना अर्थात् ‘कर्नालीका छाइला’ सार्वजनिक गरिएको हो।
प्रकृतिसँग मिलेर सुदूर जनजीवनले विकास गरेका भाकाहरूलाई आफ्नो आवाज बनाउने ब्यान्डको अभ्यासबाटै जन्मेको यो पछिल्लो गीतमा श्रव्यदृश्य सर्जक भूषण दाहालले तयार पारेको म्युजिक भिडियो छ। ब्यान्डको गीत खोजी प्रयासमा उभिएको वृत्तचित्र ‘भेँडाको ऊनजस्तो’ मा गायक अमृत र त्यस गीतका सङ्कलक नारायण वाग्लेले यसलाई उतिबेलै गुनगुनाएका थिए। विशेषगरी सल्यान र आसपासका जिल्लामा प्रचलित लोकधुन ‘टप्पा’ मा उभिएको यस गीतलाई अमृतले त्यसै भेगमा पुगेर तयार पारेका हुन्। पुरानो नेपाली चलचित्र ‘माइतीघर’मा अटाएको लोकप्रिय गीत ‘काला कुर्तैले छ मैने जागिरै खायाँ’ यसै ‘टप्पा’ धुनमा आधारित छ ।
‘कर्नालीका छाइला’ तयार पार्दा भने अमृतले लोकभाकाको मूललाई समातेर आफ्नै मौलिक शैलीमा विकास गरेका छन्। अमृतका अनुसार यो गीत सङ्कलन गर्दा स्थानीय जनजिब्रोका लाइनहरू पर्याप्त भेटिएका थिए। टप्पाका सीमितताले गर्दा तिनै लाइनलाई बलियो आधारसहित धुनमा समेट्न सबैभन्दा बढी मेहनत गर्नुपरेको थियो। गीत तयार भएपछि सुहाउँदो म्युजिक भिडियोसहित सार्वजनिक गर्ने निधोमा आफू पुगेको व्यवस्थापन संस्था नेपालयका किरणकृष्ण श्रेष्ठले बताए ।
नेपथ्यसँग काम गर्दा आफूले सदैव मित्रवत् चुनौती महसुस गर्ने गरेको दाहाल बताउँछन्। यसपटक भने नयाँ प्रविधि र तन्नेरी पुस्ताका सहकर्मीको साथ पाएर त्यस चुनौतीलाई सहजै सामना गरेको उनले उल्लेख गरे। म्युजिक भिडियो केही दिनलाई शुल्क तिरेर मात्र दर्शकले हेर्न पाउने व्यवस्था मिलाइएको छ। यो भिडियो तत्काल हेर्न नेपालभित्र कम्तीमा १० रुपैयाँ र विदेशमा कम्तीमा एक डलर तिर्नुपर्ने व्यवस्था गरिएको छ । पैसा नतिरेरै हेर्न चाहनेका हकमा भने यो म्युजिक भिडियो साता दिनपछि मात्र सार्वजनिक थलोमा उपलब्ध गराइनेछ।