डडेल्धुरा–सुदूरपश्चिममा चालु आर्थिक वर्ष २०८१/०८२ को छ महिनामा कुष्ठरोगका थप ७० जना नयाँ बिरामी फेला परेका छन ।

चालु आर्थिक वर्षको साउन महिनादेखि पुस मसान्तसम्म फेला परेका कुष्ठरोगका नयाँ बिरामीमध्ये सबैभन्दा बढी कैलाली र सबैभन्दा कम डोटी र अछाममा फेला परेका हुन । स्वास्थ्य निर्देशनालय दिपायलका क्षयकुष्ठ अधिकृत मोहन प्रसाद ओझाका अनुसार कैलालीमा ४८ जना बिरामी फेला परेकोमा डोटी र अछाममा एक÷एक जना नयाँ बिरामी फेला परेका छन ।
उनले कञ्चनपुरमा १८ जना र दार्चुलामा दुई जना बिरामी फेला परेको बताए । बाजुरा, बझाङ, बैतडी र डडेल्धुरामा बिरामीको संख्या शून्य रहेको छ । गत आर्थिक वर्ष २०८०/०८१ मा दुई सय २९ जना कुष्ठरोगका नयाँ बिरामी फेला परेका थिए । जसमध्ये सबैभन्दा बढी कैलालीमा एक सय ५८ जना बिरामी फेला परेकोमा सबैभन्दा कम दार्चुलामा एक जना बिरामी फेला परेका थिए ।

गत आर्थिक वर्षमा कञ्चनपुरमा २९ जना, अछाममा २० जना, बैतडीमा १० जना र डडेल्धुरामा पाँच जना नयाँ बिरामी फेला परेका थिए भने बझाङ र डोटीमा तीन÷तीन जना र बाजुरामा शून्य संख्यामा कुष्ठरोगका नयाँ बिरामी फेला परेको तथ्यांक छ । यसैगरी आर्थिक वर्ष २०७९/०८० मा दुई सय ३० जना नयाँ बिरामी फेला परेका थिए । जसमध्य सबैभन्दा बढी कैलालीमा एक सय ४९ जना र सबैभन्दा कम बाजुरा र डडेल्धुरामा एक÷एक जना बिरामी फेला परेका थिए ।
सो बर्ष कञ्चनपुरमा ४३ जना, अछाममा २२ जना, बैतडीमा चार जना, बझाङमा पाँच जना, डोटीमा तीन जना र दार्चुलामा दुई जना बिरामी फेला परेका थिए । यस्तै आर्थिक वर्ष २०७८/०७९ मा दुई सय पाँच जना कुष्ठरोगका बिरामी फेला परेको स्वास्थ्य निर्देशनालयको तथ्याङकमा उल्लेख छ । जसमध्ये सबैभन्दा बढी कैलालीमा एक सय ३१ जना र सबैभन्दा डडेल्धुरामा एक जना नयाँ बिरामी फेला परेको तथ्यांकमा उल्लेख छ ।
उक्त अवधिमा कञ्चनपुरमा ३२ जना, अछाममा २५ जना, बैतडीमा दुई जना र बझाङमा तीन जना कुष्ठरोगका नयाँ बिरामी फेला परेका थिए भने डोटीमा पाँच जना दार्चुलामा दुई जना र बाजुरामा चार जना बिरामी फेला परेको तथ्यांक छ । प्रतिएक लाख जनसंख्यामा नयाँ बिरामी पत्ता लाग्ने दर मध्ये कैलालीमा १७.३७ प्रतिशत, कञ्चनपुरमा ५.६१ प्रतिशत, अछाममा ९.२० प्रतिशत र बैतडीमा ४.२३ प्रतिशत छ ।

यसैगरि डडेल्धुरामा ३.६५ प्रतिशत, बझाङमा १.६५ प्रतिशत, डोटीमा १.५१ प्रतिशत, दार्चुलामा ०.७६ प्रतिशत र बाजुरामा शून्य प्रतिशत रहेको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ । क्षयकुष्ठ अधिकृत ओझाका अनुसार सामाजिक अपहेलनाका कारण कतिपयले अहिले पनि कुष्ठरोग लुकाएर बस्ने गरेका छन् । खासगरी पहाडी जिल्लामा रोग जटिल बन्न थालेपछि मात्रै उपचारका लागि आउँदा स्वास्थ्यमा विभिन्न जटिलता आउने र संक्रमण पनि फैलने गरेको उनले बताए । कुष्ठरोग निवारणका लागि खोजपड्ताल अभियानलगायत कार्य गरिरहेको उनको भनाइ छ ।
शरीरमा छुँदा थाहा नपाउनु, रातो वा फुस्रो रङको दाग देखिनु, अनुहार वा शरीरका अन्य भागमा दुख्ने वा नदुख्ने गिर्खा देखापर्नु, अनुहारको छाला र कानको लोती बाक्लो तथा चम्किलो हुनु, नशा सुन्निनु वा दुख्नु तथा झमझम गर्नु, आँखा चिम्लिँदा पूरै बन्द नहुनु, आँखीभौँ झर्नु वा पातलो हुनु, हल्केलाको मासंपेशी सुकेर जानुजस्ता कुष्ठरोगका लक्षण देखिने चिकित्सकहरु बताउछन । यस्तै हातगोडाका औँला बाङ्गा हुनु र कमजोर हुँदै जानु, हातगोडा पोल्नु, निदाएको जस्तो हुनु वा झमझम गरिराख्नु पनि कुष्ठरोगका लक्षण हुन । कुष्ठरोगको उपचारमा लगानी बढाउन, उपचार सेवालाई सुदृढ पार्न र कुष्ठरोगसँग जोडिएका लाञ्छना तथा विभेदको अन्त्य गर्न जरुरी रहेको विज्ञहरु बताउछन ।
