धनगढी- धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालको स्वास्थ्य अवस्थामा सुधार आएको छ । भारतको नयाँ दिल्लीस्थित म्याक्स सुपरस्पेसियालिटी हस्पिटलमा उपचाररत हमालको स्वास्थ्य अवस्थामा सुधार आएको हो ।
मेयर हमालका भाइ श्याम हमालका अनुसार अहिले पनि उनको सघन उपचार कक्ष आईसीयूमा राखेर उपचार भइरहेको छ । ‘स्वास्थ्यमा सुधार भएपछि दाइ बोल्न थाल्नुभएको छ,’ श्यामले भने, ‘सोमबारदेखि उहाँले आईसीयूबाट क्याबिनमा सार्नका लागि आग्रह गरिरहनुभएको छ । तर, चिकित्सको सल्लाहअनुसार उहाँको अहिले पनि आईसीयूमै उपचार भइरहेको छ ।’
श्यामका अनुसार चिकित्सकले विभिन्न परीक्षण गरेपछि अहिले शल्यक्रिया गर्नुपर्ने अवस्था देखिएको छैन । मेयर हमाललाई स्वास्थ्य समस्या देखिएपछि शुक्रबार धनगढीको माया मेट्रो अस्पतालमा भर्ना गरिएको थियो । हमाललाई मस्तिष्क घात भएको चिकित्सकले बताएपछि उनलाई थप उपचारका लागि दिल्ली लगिएको हो । शुक्रबारदेखि नै मेयर हमाललाई आईसीयूमा राखेर उपचार सुरु गरिएको थियो ।