व्यवसायिक किवि खेतीमा जमेका डडेल्धुराका लक्ष्मण
लक्ष्मण थापा मगरको ध्रुब कृषि फर्म किविमा चासो राख्नेहरुका लागी सिकाई केन्द्र हुन सक्छ ।
कुनै बेला स्थानिय विद्यालयमा विद्यार्थिहरु लाई पढाइरहेका भेटिने डडेल्धुराका एक जना शिक्षक अहिले व्यवसायिक किवि खेतीमा रमाइरहेका भेटिन्छन ।

डडेल्धुरा जिल्ला आलिताल गाउपालीका वडा नं.२ लामीटुडा का लक्ष्मण थापा मगर शिक्षण पेशा छाडी आफनै गाउमा रहेको ध्रुव कृषि फर्ममा व्यवसायिक रुपमा किवि खेती गरिरेहका छन् ।
२०६१ देखी २०७३ साल सम्म शिक्षक रहेका लक्ष्मण थापा तत्कालीन समयमा वि.वि.सि. नेपाली सेवामा प्रसारण हुने “साझा सवाल” कार्यक्रममा किवि खेती बारे छलफल सुनेपछी किवि खेती तर्फ आकर्षित भएका हुन ।
२०७० सालमा दोलखा बाट ११० वटा किविको बोट मगाइ सुरु गरिएको उनको फर्ममा अहिले १५ रोपनी भन्दा बढी क्षेत्रफलमा किवि खेती गरिएको छ । २०७३ सालमा पहिलो पटक साढे तिन कुइन्टल किवि उत्पादन भएको उनको बारीमा हाल बार्षिक सरदर ७० देखी ७५ कुईन्टल सम्म किवि उत्पादन हुने गरेको छ ।
सुरुको वर्ष किवि प्रतिकिलो ५००का दरले विक्रि गरेका उनी पछिल्लो समय विक्रि मुल्य घटे पनि उत्पादन धेरै भएकोले आफुलाई खासै फरक नपरेकोे बताउछन् ।

२०७७ साल देखी थापाले आफनो फर्ममा नर्सरी निर्माण गरि स्कृनघरमा किविको विरुवा उत्पादन पनि थालेका छन् । प्रत्येक वर्ष अनुमानित ४ हजार थान विरुवा उत्पादन गरि सुदुरपश्चिमका ७ वटै पहाडि जिल्लामा विक्रि गर्ने गर्दछन् ।
सुदुरपश्चिममा भर्खर मात्र उत्पादन सुरु गरिएको किवि प्रति यस क्षेत्रका किसानहरु बिस्तारै आकर्षित हुन थालेका छन् । यस क्षेत्रमा किवि खेतीका बारेमा सिक्न चाहनेको लागी यो फर्म सिकाई केन्द्र हुने रुडुक डडेल्धुराका कार्यकारी निर्देशक अमर बहादुर साउद बताउछन् ।

ध्रुव कृषि फर्ममा हुर्किदै गरेका १७५ वटा नयाँ किविका विरुवा हरुले अर्काे वर्ष बाट फल दिन सुरु गर्नेछ । पछिल्लो समय सरदर ७० देखी ७५ कुईन्टल सम्म किवि उत्पादन भएको उनको फर्ममा अर्काे वर्ष बाट अनुमानित १५० कुईन्टल सम्म उत्पादन हुनेछ ।
हाल विरुवा र फल बाट बार्षिक १० लाख भन्दा बढी आम्दानी गरिरहेका लक्ष्मण थापा मगर आउदो वर्ष बाट आमदानीमा बृद्धि हुने कुरामा ढुक्क छन् । आफ्नो उत्पादन सुदुरपश्चिमका विभिन्न जिल्लाका साथै काठमाण्डौ सम्म पठाइरहेका थापा लाई हाल साहुखर्क बाट ६ किलोमिटर को दुरीमा रहेको फर्म सम्म सडक पुगे पछी ढुवानीको चिन्ता पनि कम भएको छ भने किवि खेतीले आफुलाई सन्तुष्ट बनाएको लक्ष्मण थापा मगर बताउछन् ।

आफु बिदेश नगए पनि विदेश गएर फर्केका साथीभाईहरुको दुख सुन्दा स्वदेशमै अवसरको खोजी गर्न सके राम्रो भन्ने लक्ष्मण थापा मगरको भनाई लाई आत्मसाथ गर्दै व्यवसायिक रुपमा फलफुल र गैर परम्परागत व्यवसाय तर्फ युवाहरु लाई आकर्षित गर्न सके पछिल्लो समय बढ्दै गएको युवा पलायनको दर लाई रोक्न सकिन्थ्यो की ?
