सुदूरपश्चिममा पाँच महिनामा भ्रष्टाचारका ३३७ उजुरी दर्ता

डडेल्धुरा-  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा सुदूपश्चिमका ३३७ उजुरी दर्ता भएका छन् । चालु आर्थिक वर्षको हालसम्मको अवधिमा भ्रष्टाचारका ३३७ उजुरी गर्दा भएका हुन ।

जसमा साउन महिनामा ११४, भाद्र महिनामा ८३, असोज महिनामा ५१ र कार्तिक महिनामा ५९ र मंसिर २३ गते सम्ममा ३० उजुरी दर्ता भएका छन् । अख्तियारमा सबैभन्दा बढी उजुरी इमेल र हुलाकबाट पर्ने गरेका छन् । अख्तियारका अनुसार कुल उजुरी मध्ये १०९ उजुरी इमेल र १०७ उजुरी हुलाकबाट परेका छन् ।

त्यस्तै ७१ उजुरी लिखित रूपमा परेका छन् । अख्तियारले आयोगको वेबसाइट, इमेल, टेलिफोन, प्रमुख जिल्ला अधिकारी मार्फत, फेसबुक, भइबर, मोबाइल एप, लिखित निवेदन, समाचार पत्र, हुलाक, हेलो सरकार लगायतका माध्यमबाट उजुरी लिने गरेको छ । उजुरीहरू अधिकांश स्थानीय तहका हुने गरेको अख्तियारका सूचना अधिकारी चेतराज भट्टले बताए ।

देशभरमा अख्तियारमा ५ महिनाको अवधिमा १० हजार ९६१ उजुरी परेका छन् । साउन देखि मंसिर २३ सम्मको अवधिमा अख्तियारमा उक्त उजुरी परेका हुन । अख्तियारका देशभरमा ९ वटा कार्यालय रहेका छन् । जसमा सबैभन्दा बढी उजुरी अख्तियारको केन्द्रिय कार्यालय काठमाण्डौंमा परेका छन । जहाँ ५ महिनाको अवधिमा ७ हजार ४५७ उजुरी परेका छन् ।

त्यस्तै अख्तियारको इटहरी कार्यालयमा ४५६, वर्दिवास कार्यालयमा ८०९, हेटौडा कार्यालयमा ५३३, पोखरा कार्यालयमा ३७८, बुटवल कार्यालयमा ३४८, नेपालगन्ज कार्यालयमा १९८ र सुर्खेत कार्यालयमा ४४७ उजुरी परेका छन् ।

 

You might also like