डडेल्धुरा – डडेल्धुरा स्थित प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष मनाइने ‘देहिजाँत’ आज भव्य रुपमा सम्पन्न भएको छ । हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्ने गर्दछ । आज सम्पन्न भएको दिउसेडी मेलामा हजारौ तिर्थालुहरुले दर्शन गरेका छन् ।

डडेल्धुरा सदरमुकामबाट करिब ५ किलोमिटर टाढा अमरगढी नगरपालिका–८ मा अवस्थित शक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा हजारौं संख्यामा श्रद्धालु भक्तजन पुग्ने गर्दछन् ।
खनमडा, छचोडा, दुमडा र जिलोडा भ्राण अर्थात भण्डार रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान देउरो आएपछि दिउसेडी मेला सुरु हुने गर्दछ।
स्थानीय भाषामा देहीजातका नामले प्रसिद्ध यो मेलामा सुदूरपश्चिमका बैतडी, डोटी, कैलाली, कञ्चनपुर, दार्चुला र बझाङका साथै कर्णाली प्रदेश सहित छिमेकी भारतबाट समेत श्रद्धालुहरु दर्शन गर्न आउने गर्दछन।