अनुदान रहित कृषिमा रमाइरहेका डडेल्धुराका ९० वर्षीय तारा दत्त भट्ट

९० वर्षको उमेरमा अधिकांशलाई सामान्यतया हिँडडुल गर्न पनि हम्मे हुने गर्दछ वा कुनै न कुनै सहाराको खाचो पर्ने गर्दछ तर डडेल्धुरा जिल्ला, गन्यापधुरा गाउँपालिका, वडा नं.१ भातकाडाका तारा दत्त भट्ट अझै पनि सक्रिय रुपमा कृषिकर्ममा भेटिन्छन् ।

खेती किसानीबाट केही हुँदैन भन्नेहरुका लागि ताराले गतिलो जवाफ दिएका छन् । खेती किसानीबाटै तीन भाइ छोरा तथा तीन बहिनी छोरीलाई उच्च शिक्षा दिलाएका छन् । एउटा छोरालाई सिभिल इन्जिनियर बनाए अरु दुई छोराले पनि उच्च शिक्षा लिएका छन् । छोरीलाई पढाउनु हुँदैन है भन्ने मान्यता राख्ने समाजमा छोरीहरूलाई स्नातकसम्मको शिक्षा दिलाएका छन् ।
यसका साथै घर परिवारको नियमित खर्च, चाडपर्वहरू र छोराछोरीको विवाह, व्रतबन्धलाई सम्मानका साथ मनाइरहेका छन् ।

आफुले सानै उमेर देखी देखेको किसान तारा दत्त भट्टलाई खेती किसानीमा निकै मेहनत गर्ने र नयाँ नयाँ प्रयोग गर्न चाहने किसानको रुपमा देखेको बताउदै भातकाडाका स्थानीय तथा हाल ग्लोवल आई.एम.ई. बैँक डडेल्धुराका शाखा प्रबन्धक प्रकाश भट्ट उहाको मह यस क्षेत्रमै चर्चित रहेको बताउछन ।

प्रकाश भट्ट,शाखा प्रबन्धक , ग्लोवल आई.एम.ई. बैँक डडेल्धुरा

 

बजारबाट न विषादी न मल

व्यावसायिक रुपमा तरकारी खेती गरिरहेका उनको खेतमा अहिलेसम्म बजारको मल तथा विषादी प्रयोग गरिएको छैन । आफूले पालेका गाईभैँसी, कुखुरा, बाख्राको मल नै आफ्नो बारीको लागि पर्याप्त हुने हुँदा बजारको मल तथा विषादी प्रयोग नगरेको बताउँदै उनी भन्छन्,“बजारको मल तथा विषादी प्रयोग गर्नुभनेको आफ्नो काललाई आफैले निम्ता दिनु हो ।”

९० वर्षिय किसान तारा दत्त भट्ट

अनुदान रहित कृषि
पछिल्लो समय गाउँघरमा अनुदान नखाएका व्यावसायिक किसानहरू देख्न मुस्किल जस्तो देखिए पनि खेती किसानी सुरु गरेदेखि अहिलेसम्म एक रुपैयाँ अनुदान नलिएका तारा दत्त भट्ट व्यावसयिक खेती किसानीमा रमाइरहेका भेटिन्छन् । उसो त कृषि गणना, २०७८को तथ्याङ्क अनुसार नेपालमा ३ लाख ८ हजार ५ सय १२ परिवारले विभिन्न निकायबाट कृषि अनुदान पाएको देखिन्छ र डडेल्धुरामा पनि सङ्घीय सरकार, प्रदेश सरकार मातहतका विभिन्न कार्यालय, आयोजना तथा परियोजना बाट वितरण गरिएको अनुदान धेरै व्यावसायिक किसानहरूले पाए पनि उनले भने अनुदानका लागी कहिल्यै पहल गरेनन् र दिने निकायले पनि आएर दिएनन् ।

बाख्रा तथा भैसी गोठ

काठमाण्डौ बाट फर्किए छोरा र बुहारी
रोजगारीका सिलसिलामा काठमाडौं रहेका छोरा गणेश र बुहारी बिनिताले काठमाडौंको करिव ७ वर्ष बसाइलाई यो वर्षदेखि बिट मारेका छन् । काठमाडौमा दुवै जनाको नोकरी भए पनि त्यहाँको आम्दानीले खान बस्न मात्र ठिक्क हुने भए पछि यो वर्षबाट डडेल्धुरामै बसेर व्यावसायिक खेतीपाती गर्ने सोचका साथ आएको बुहारी विनिता बताउँछन् । अहिले बिहान बेलुकी बुवा तारा दत्त भट्ट खेतीकिसानीका विभिन्न तौरतरिकाहरू छोरा गणेश र बुहारी विनितालाई सिकाइरहेका भेटिन्छन् ।

विनिता भट्ट, बुहारी

रमाइलो तथ्य
कुनै बेला १५० वटा सम्म बाख्रा तथा १६ वटा सम्म भैँसी पालेका उनको घरमा अहिले पनि ३५ देखि ४० को हाराहारीमा बाख्राहरू छन् भने आगनमा तीनवटा उन्नत जातका भैँसीहरू छन् । घर तथा भान्साका भित्ता भरी माहुरीका आधुनिक तथा परम्परागत घारहरु रहेका छन् । आगनको एक कुनामा खरायोका खोरहरु छन् । घर छेउका बारीमा लस्करै प्लास्टिक घरहरुमा तरकारी खेती गरिएको छ भने खुला रूपमा पनि तरकारी खेती गरिएको छ ।

काठमाण्डौ बाट फर्केर आफ्नै बारीमा बुहारी विनिता भट्ट

एउटा रमाइलो तथ्य के रहेछ भने, आफू ब्राम्हण जातीको भएकाले पहिले–पहिले आँगनमा कुखुरा आउँदा छोइछिटो मानेर गहुँत वा सुनपानी हाल्ने गरिन्थ्यो तर दुई वर्ष पहिलेदेखि आफैले स्थानीय प्रजातीका कुखुराहरु पाल्न थालेका छन् । अहिले उनको आँगनमा ३५ देखी ४० वटा स्थानीय कुखुराहरू देखिन्छन् । गएको दशैमा मात्र १० वटा भाले बेचेको र त्यसबाट राम्रो आम्दानी लिएको उनले बताए ।

कुखुरालाई छोईछिटो गर्नेको आगनमा सुरु भएको कुखुरा पालन

 

खेतीपातीमा आएको परिवर्तन
लामो समयदेखि खेतीपाती तथा पशुपालनमा लागेका तारा दत्त भट्टको अनुभवमा पछिल्लो समयमा हावापानीमा देखिएको परिवर्तनले धेरै असर गरेको छ । हावापानीले मात्र होइन बजारमा आएका नयाँ बीउ, मल, विषादीले पनि असर गरेको उनले महशुस गरेका छन् । पहिले–पहिले पाँच किलोसम्मको काउली उत्पादन गरेको उनको बारीमा अचेल त्यत्रो काउली नफलेको धेरै भयो । पहिले–पहिले प्रसस्त दुध दिने भैसीहरुले अचेल त्यसरी दुध दिन छाडेको उनले महशुस गरेका छन् । उनी भन्छन्, “कतै पछिल्लो समयमा आएका यी विकासे घाँसहरुले दुधको उत्पादन घटाएको त होइन?”

देशमा केही काम छैन भनेर दैनिक हजारौ युवाहरु विदेशीन लागेका छन भने गाउ घरमा वर्षेनी खेतीयोग्य जमिनहरु बाझो हुन थालेका छन । देश मै व्यवसायीक रुपमा कृषि गर्न सके केही हद सम्म भए पनि रोजगारी श्रृजना गर्न सकिन्थ्यो की ?

 

You might also like