डडेल्धुरा-डडेल्धुराको परशुराम नगरपालिकास्थित परशुरामधाम सव डिभिजन वन कार्यालयको मोटरसाईकल जलाइएको छ ।
परशुरामधाम सव डिभिजन वन कार्यालयका प्रमुख इश्वरीसिंह बोहरा र सुरेश खाती सवार सुपप्र ००४–००१ ब ००१९ नम्बर प्लेटको सरकारी मोटरसाइकल पार्किङ गरेर राखिएको अबस्थामा जलाइएको हो ।

मोटरसाईकल जलाएको आशंकामा स्थानीय ४० बर्षीय धनबहादुर चन्दलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ ।
इलाका प्रहरी कार्यालय जोगबुडाका इन्चार्ज प्रहरी निरिक्षक सुरज रोकायाका अनुसार मोटरसाइकल परिगाउँस्थित चन्दको घरमा राखेर उनीहरू वडा नम्बर ३ को सिमल्टामा फिल्डको काम गर्न गएका थिए । सोही समयमा मोटरसाइकलमा आगजनी गरिएको हो ।
सशस्त्र प्रहरीका भुतपुर्व जवान चन्दले मदिरा सेवन गरेर मोटरसाइकल जलाएको प्रारम्भीक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।
आगजनीबाट मोटरसाईकल पुर्णतया ध्वस्त भएको र आगजानी गरिएको मोटरसाईकल सहित प्रकाउ परेका चन्दलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुरा पठाइएको प्रहरी निरिक्षक रोकायाले बताउनु भयो । जिल्ला प्रहरी कार्यालय डडेल्धुराले अभियुक्त चन्द उपर सरकारी सम्पत्तीमा आगजानीसम्बन्धि कसुरमा मुद्दा दर्ता गर्न अनुसन्धान शुरु गरिएको जनाएको छ ।
