डडेल्धुरामा नयाँ डीएसपी श्रेष्ठ हाजिर

डडेल्धुरा-जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) को रुपमा सुगन्ध श्रेष्ठ हाजिर भएका छन्। डीएसपी दीपककुमार कार्कीको सरुवा भएपछि जिल्ला प्रहरी कार्यालय, पाल्पामा कार्यरत श्रेष्ठ यहाँ आएका हुन्।

बुधवार जिप्रका डडेल्धुरामा हाजिर भएका डीएसपी श्रेष्ठले विभिन्न निकायहरुका संग परिचयात्मक कार्यक्रमको आयोजना गरेका छन् । आज शुक्रवार जिल्लास्थित विभिन्न संञ्चार माध्यम संग आवद्ध पत्रकारहरूसँग परिचयात्मक कार्यक्रम गरेका छन्। त्यसक्रममा उनले जिल्लामा अपराधिक घटना न्यूनीकरण गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन्।

‘यहाँ रहँदा अपराधका घटनामा कमी ल्याउने गरी काम गर्नेछु। लागुऔषध तथा साइबर सुरक्षाका बारेमा जनचेतनामूलक कार्यक्रमलाई तीव्रता दिन्छौँ,’ उनले भने, ‘सबैसँग समन्वय गरेर अगाडि बढ्ने छु।’ यसका साथै उनले जुवातास र लागुऔषध नियन्त्रणमा पनि प्रहरी सक्रिय भएर लाग्ने बताए।

उनले जिल्लामा रहँदासम्म कुनै पनि दबाब र प्रभावमा नपरी निष्पक्ष रूपमा काम गर्ने प्रतिबद्धता जनाए। चाडपर्वको समयमा जिल्लामा समग्र शान्तिसुरक्षा कायम गर्नका लागि साढे ३ सय प्रहरी परिचालन गरेको डीएसपी श्रेष्ठले बताए।

जिल्लास्थित पत्रकारहरूले समाजमा शान्ति सुरक्षा कायम गर्न प्रहरीको भूमिका महत्वपूर्ण हुने भएकाले त्यसतर्फ ध्यान दिन सुझाएका थिए। जिल्ला स्थित संञ्चारकमीहरुले जुवातास, ट्राफिक व्यवस्थापन, हत्याहिंसा, आत्महत्या, लागूऔषध, चोरी तस्करीलगायतका घटना घट्ने हुँदा यिनीहरूको न्यूनीकरणमा ध्यान दिन डीएसपी श्रेष्ठ लगायत नव आगन्तुक प्रहरी निरिक्षकहरु लाई आग्रह गरेका थिए।

सामाजमा घट्ने अपराधिक क्रियाकलाप न्यूनीकरण गर्नमा प्रहरीलाई पत्रकारहरू पनि सहयोग र सहकार्य गर्न तयार रहेको नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका अध्यक्ष हिक्मतबहादुर सिंहले बताए। मिडियाको क्षेत्रबाट गर्नुपर्ने सहयोग गर्न पत्रकारहरू तयार रहेको उनको भनाइ थियो।

आफु प्रहरी निरिक्षकको रुपमा वैतडीको पाटनमा गरिसकेकोले यस क्षेत्रको भुगोल तथा सामाजिक परिवेशको बारेमा जानकार भएकोमा यस क्षेत्रमा काम गर्न केही सहज हुने प्र.ना.उ. श्रेष्ठले बताउनु भयो ।

You might also like