आशुँ भण्डारी
जोगबुडा–बडादसैंको महत्वपुर्ण दिन फुलपाती पुर्व भित्रिमधेस क्षेत्रका अवरुद्ध सबै ग्रामीण सडकहरु सुचारु गर्ने तयारी अनुरुप तिव्र गतिमा काम भइरहेको छ ।
परशुराम नगरपालिका र आलिताल गाउँपालिकाको अगुवाईमा सो क्षेत्रका अवरुद्ध दर्जनौ ग्रामीण सडक सुचारु गर्न पहल भइरहेको हो । परशुराम नगरपालिकामा महाकाली करिडोर सडक आयोजना अन्तर्गत कञ्चनपुरको ब्रम्हदेवदेखि जोगबुडा सडक खण्ड एक दुई दिनभित्रै सुचारु हुनेगरी काम भइरहेको छ भने दैजी–जोगबुडा सडक खण्ड, चुनेपानी–गैरीखान–सादनी सडक खण्डमा पनि तिव्र गतिमा काम भइरहेको परशुराम नगरपालिकाका प्रवत्ता खगेन्द्रबहादुर सिंहले जानकारी दिए ।

जोगबुडा–कुर्मुल्ले–सलेता सडक खण्ड, शिर्ष–गोगन–बसौटी सडक खण्ड लगायत नगर क्षेत्रभित्र हाल अवरुद्ध रहेका सबै सडकहरुमा फूलपाती अघिनै यातायात सेवा सुचारु गर्ने उदेश्यले द्रुत गतिमा काम भइरहेको परशुराम नगरपालिकाले जनाएको छ । हाल परशुराम नगरपालिका अधिकांस बस्तीहरु सडक सञ्जालसँग जोडिएका छन ।

भित्रिमधेस क्षेत्रको आलिताल गाउँपालिकाले पनि पालिकाभित्र अवरुद्ध अवस्थामा रहेका सबै ग्रामीण सडकहरुमा फूलपातीभित्रै यातायात सेवा सुचारु हुने जनाएको छ । हाल अवरुद्ध अवस्थामा रहेका सबै सडकहरु सुचारु गर्न तिव्र गतिमा काम भइरहेको आलिताल गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्कीले बताए ।