डडेल्धुरा-महान पर्व दशैं नजिकिँदै जाँदा यातायात सेवा सुचारु गर्न कसैले चासो नदेखाएपछि बर्षातले अवरुद्ध सडक मर्मतसम्भार गर्न स्थानीय श्रमदानमा जुटेका छन ।

तत्कालिन जिल्ला विकास समिति डडेल्धुराले डडेल्धुरा र कञ्चनपुर जोडने महत्वपुर्ण सडकका रुपमा प्राथमिकतामा राखेको साँदनी गैरीखान चुनापानी सडकको गैरीखान चुनापानी खण्ड बर्षाका कारण भत्किएर असार पहिलो सातादेखि अवरुद्ध छ । साढे सात किलोमिटर सो सडक खण्डमा यातायात सेवा सुचारु गर्न स्थानीय सरकारका जनप्रतिनिधीहरुसँग पटक पटक माग गर्दा पनि हालसम्म सुनवाई नभएपछि श्रमदानमा जुटेको स्थानीय बताउछन ।
कञ्चननपुरको महेन्द्रनगरबाट सबैभन्दा छोटो दुरीमा चुरे पर्वत श्रृंखलाको मलास क्षेत्रका बस्तीहरु छिचोलेर डडेल्धुराको भित्रिमधेस जोडने सबैभन्दा कम दुरीको सो सडक खण्डमा तीन दिनदेखि स्थानीयले श्रमदान गरिरहेका छन । परशुराम नगरपालिका–७ अन्तर्गत मलास क्षेत्रमा रहेका बसेनी, गैरीखान, काजीगडा, आइडुङ्रा, पुरानपानी, साइसौन लगायतका बिकट बस्तीका स्थानीय घरबाट लत्ताकपडा, रासन र भाडाकुँडा बोकेर सडकमै खाना पकाएर वन क्षेत्रमा बास बस्दै सडक मर्मत सम्भारमा जुटेको स्थानीय अगुवा जनक बमले जानकारी दिए ।

दैनिक ५० देखि ७० जनासम्मले निरन्तर तीन दिन श्रमदान गर्दा झण्डै छ किलोमिटर सडक मर्मत भइसकेको र बाँकी सडक मर्मत गरेर आईतबारदेखि यातायात सेवा सुचारु गर्ने लक्ष्यका साथ तिब्र गतिमा काम भइरहेको बमले बताए । जिल्लाको सबैभन्दा दुर्गम बस्ती मानिने मलास क्षेत्रका बस्तीहरुमा हाल कच्ची सडक पुगे पनि बर्षातको समयमा अवरुद्ध हुने गरेका छन ।
अत्यान्तै सम्वेदनसिल चुरे क्षेत्रको कच्ची भूबनोटका कारण बर्षातमा बाढी र पहिरोका कारण कच्ची सडक अवरुद्ध हुने गरेको स्थानीय बताउछन । चाडपर्व नजिकिए पनि यातायात सेवा सुचारु हुने नदेखेपछि श्रमदानमा जुटनु परेको स्थानीय रामबहादुर महताले गुनासो पोखे । उनले दुर्गम क्षेत्रलाई सरकारले वेवास्त गरिरहेकाले जनजीवन निकै कष्टकर रहेको बताए ।
मलास क्षेत्रका बासिन्दाहरुलाई एक दिन पैदल हिडेर वडा कार्यालय पुग्ने बाध्यता छ । दुई तीन घण्टा पैदल हिडेर कञ्चनपुरको महेन्द्रनगर पुग्न सकिने भएकाले सो क्षेत्रका बासिन्दाहरु दैनिक उपभोग्य सरसमान, लत्ताकपडा, नुन तेलदेखि औषधी र अत्याबश्यक बस्तु खरिद गर्न महेन्द्रनगर पुग्ने गर्छन । स्थानीयस्तरमा उत्पादन हुने कृषि उपज बिक्री गर्न पनि महेन्द्रनगर बजार पुग्नुपर्ने मलास क्षेत्रका बासिन्दाहरुको बाध्यता छ ।

हाल महेन्द्रनगरदेखि मलास क्षेत्र जोडने तीनवटा कच्ची सडक भए पनि बर्षायामसँगै सबै सडक अवरुद्ध छन । गैरीखान चुनापानी सडक खण्ड मात्रै सुचारु भए पनि चाडपर्वका बेला स्थानीयलाई निकै सहज हुने परशुराम नगरपालिका–७ कसान निवासी स्थानीय अगुवा गोरखबहादुर बोहराले बताए । उनले वडा कार्यालय रहेको साँदनी गाउँसम्म पुग्ने सडक सुचारु हुन अझै निकै समय लाग्ने बताए ।
‘गैरीखानदेखि चुनापानीसम्म सडक सुचारु हुन सकेमा महेन्द्रबजारसम्म सहजै यातायात सेवा सञ्चालनमा आउछ,’ श्रमदान अभियानको नेतृत्व गरिराखेका स्थानीय अगुवा बमले भने, ‘हरेक महिनाको शनिबारलाई श्रमबार घोषणा गरेर नियमित रुपमा श्रमदान गर्ने र हरेक महिनाको पहिलो शनिबारलाई वृहत जनश्रमदान अभियानका रुपमा सञ्चालन गर्ने निर्णय यँहाका युवाहरुले गरेका छन ।’
जनश्रमदान अभियान सञ्चालन गरेर विकट ग्रामीण क्षेत्रमा विकासमा सहभागिता जनाउने युवाहरुले निर्णय गरेका हुन । जनश्रमदानमा जुटेका युवाहरुले सरकार र अन्य निकायबाट बाह्य सामाग्री खरिद गर्न र दक्ष मिस्त्रीको ज्याला वाफत बजेट बिनियोजन हुने हो भने बस्तीका आवश्यकतामा आधारित योजनाहरु श्रमदान गरेरै कार्यान्वयन गर्ने निर्णय गरिएको परशुराम नगरपालिका–७ घुम्टीगडाका साईमल धामीले बताए ।
