असहाय र अनाथ विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग

डडेल्धुरा–डडेल्धुराको भित्रिमधेस क्षेत्रमा अग्रणी र शिर्षस्थ बिमा कम्पनीका रुपमा सेवाप्रवाह गरिरहेको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड जोगबुडा उप शाखाले परशुराम नगरपालिका–५स्थित भूवनेश्वरी नमुना माध्यामिक विद्यालय परिगाउँमा अध्ययनरत २४ जना असहाय र अनाथ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।


कम्पनी को ७औ बार्षिकोत्सवका अवशरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आमा बुवा गुमाएका विद्यार्थीहरुलाई शुक्रबार शैक्षिक सामाग्री हस्तान्त्ररण गरिएको हो । विद्यालयमा बिमा साक्षरता कार्यक्रम सम्पन्न गरेर जनही कापी दुई थान, डटपेन एक थान र जेमेट्री बक्स एक थानका दरले शैक्षिक सामाग्री हस्तान्त्रण गरिएको विद्यालयका प्रधानाध्यापक डम्बरसिँह थ्वालले जानकारी दिए ।


बिमा सारक्षता कार्यक्रम अन्तर्गत जीवन वीमाको महत्व तथा सेवा सुविधाको बारेमा जोगबुडा उपशाखाका प्रमुख बीरबहादुर खातीले कार्यक्रममा सहभागीहरुलाई अवगत गराएका थिए भने उपशाखामा कार्यरत कर्मचारी बीरबहादुर भण्डारीले विद्यमान बिमा नीति र लाभग्राहीले बिमा गर्दा अपनाउनुपर्ने सावधानीका बारेमा जानकारी दिएको विद्यालय प्रशासनले जनाएको छ ।

You might also like