डडेल्धुरा- सुदूरपश्चिममा एक उपाध्यक्षसहित पाँच वडाअध्यक्षको पद रिक्त छ ।
उपाध्यक्षसहित पाँच वडाअध्यक्षको मृत्यु भएपछि पद रिक्त हुन पुगेको हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित उपाध्यक्षसहित पाँच वडाअध्यक्षको मृत्यु भएपछि ती पद अहिलेसम्म खाली छन् । दार्चुलाको दुहुँ गाउँपालिका–५, बझाङको सुर्मा गाउँपालिका–४, डोटीको पूर्वीचौकी गाउँपालिका–६ र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्ष पद खाली छ ।
बाजुराको स्वामी कार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको मृत्यु भएपछि पद रिक्त छ । जोशी २०७९ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी थिइन्। दार्चुलाको दुहुँ गाउँपालिका–५ का वडाध्यक्ष मनोरथ भट्टको गत असारमा मृत्यु भएपछि सो पद रिक्त छ । त्यस्तै गत जेठमा बझाङको सुर्मा गाउँपालिका–४ का वडाअध्यक्ष सर्जन बोहराको मृत्यु भएको थियो ।
३८ वर्षको उमेरमा उनको मृत्यु भएको हो । उनलाई मधुमेह र कलेजोलगायतसम्बन्धी समस्या थियो। बोहरा २०७९ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्ष निर्वाचित भएका थिए । पालिकाभर एमालेबाट निर्वाचित हुने उनी एकमात्र वडाध्यक्ष हुन् । तर उक्त पद हाल रिक्त छ । डोटीको पूर्वीचौकी गाउँपालिका–६ गाँजरीका वडाध्यक्ष पुष्पराज जोशीको पनि हृदयघातका कारण निधन भएपछि सो पद रिक्त छ ।
६५ वर्षीय जोशी बाटोमा एक्कासी बेहोस भएर ढलेका थिए । उनको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै निधन भएको थियो । जोशी गत २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। त्यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष महेन्द्र खड्काको पनि मृत्यु भएपछि सो पद रिक्त छ । वडाध्यक्ष खड्का भीमदत्त नगर कार्यपालिकाका प्रवक्ता समेत थिए ।
रिक्त पदका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको परामर्शमा उपनिर्वाचनको मिति तोकेको हो । मन्त्रिपरिषद् बैठकअघि आयोगका पदाधिकारीले प्रधानमन्त्री केपी ओलीलाई भेटेर रिक्त पदमा निर्वाचन सम्पन्न गर्ने गरी मिति तोक्न परामर्श दिएका थिए ।
चाडपर्वपछि मंसिरको मध्यमा उपनिर्वाचन उपयुक्त हुन्छ भनेर सरकारलाई परामर्श दिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए ।