बैतडीमा एकै गाउँका चार जनामा डेंगु संक्रमण

बैतडी– बैतडीमा एकै गाउँका चार जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जिल्लाको पाटन नगरपालिका–५ वसन्तपुर कद्वाराका चार जनामा डेंगु संक्रमण पुष्टि भएको पाटन प्राथमिक स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक प्रेमसागर भट्टले जानकारी दिए ।

डेंगु संक्रमण पुष्टि भएका मध्ये एकजना बाहिरबाट आएका र अरु तीन जना गाउँमै बसोबास गर्ने बुझिएको जनस्वास्थ्य निरीक्षक भट्टले बताए । गाउँमा अरु पनि ज्वरोका बिरामी भएकाले डेंगु संक्रमितको संख्या थपिन सक्ने उनले बताए ।

एकै गाउँमा चार जनामा डेंगु संक्रमण पुष्टि भएपछि गाउँमै गएर चेकजाँचको काम गर्ने तयारी भइरहेको जनस्वास्थ्य निरीक्षक भट्टले बताए । पाटन नगरपालिकासंग सहकार्य गरेर डेंगु प्रभावित गाउँमा स्वास्थ्यकर्मीको टोली पठाउने तयारी भएको उनले बताए ।

एडीस जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा डेंगु सर्ने गर्दछ । बर्षातको समयमा पानी जम्ने खाल्डाखुल्डी हुँदा लामखुट्टेको वृद्धि विकास बढी हुने गर्दछ ।

डेंगु संक्रमण भएमा मानिसलाई कडा खालको ज्वरो आउने, टाउको दुख्ने, शरीरका जोर्नी तथा मांसपेशी दुख्ने, खाना खान मन नलाग्ने जस्ता लक्षण देखिन्छन् ।

You might also like