डडेल्धुरा- प्रत्येक वर्ष भाद्र शुक्लपक्ष पुर्णिमाका धुमधामसँग पूजाआजाका साथ मनाइने लाटा गन्यापधुरा जाँत भोलि हुने भएको छ । यो जाँतलाई औलौगिक धार्मिक आस्था अहिले पनि निसन्तानलाई सन्तान बरदान हुने जनविश्वास छ ।
गन्यापधुरा गाउँपालिकाको मुकाम बडालबाट करिब दुई घण्टाको पैदल दुरीमा पुगिने गन्यापधुरा देवस्थलको मेलाका समयमा पुगेर पुजाआजा गर्नाले मनोकामना पुरा हुने गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्कीले बताए ।
गन्याप देवतालाई बली नचढ्ने भएकाले एक पवित्र धार्मिक स्थलका रुपमा चिनिन्छ । उनले भने, ‘गन्याप दुधधारी देवता हुन् । गन्यापलाई शिवजीको रुपमा लिईन्छ । हामिलाई थाहा छ । सबैले सुनेका पनि छौ सारा सृष्टिको रचयिता भगवान शिव हुन भने उहाँको यस पवित्र देवभुमिमा पुगी पूजाआजा गर्नाले सबै दुःख कष्ट नास भएर जान्छन । भगवानको प्रशादका रुपमा चिताएको फल प्राप्त हुन्छ ।’
गन्यापधुरामा रहेको लाटा गन्याप देवतालाई शक्तिशाली देवताका रुपमा लिईन्छ । वडा नं. ४ को अग्लो पहाड र घना जंगलमा बिशाल शिला मूनी रहेको लाटा गन्याप गणेश भगवानले आफ्नो रूप प्रकट गरेको किम्बदन्ती छ । भगवान गणेशले मानव बस्ती गन्यापधुरा–४ रुमायल गाउँबाट उहाँको डोली सजाएर महाभारत श्रृङ्खला शिखरतिर गएको किंवदन्ती सुन्न पाईन्छ ।
डाणागन्तिका हिसाबले गनेर लाग्ने मेला विशेष गरि प्रत्येक वर्ष भाद्र चतुर्दशीको दिन लाग्ने गर्दछ । राती लाग्ने धार्मिक शिखर मेलाको आफ्नै महत्व र गौरव छ । शिखरको गात ‘ठूलो ढुंगा’ सम्म पुग्नुभन्दा अगाडि विभिन्न ठाउँ–ठाउँमा दूध ढाल्नेमा दूध, अगरबत्ती तथा फूलपाती चढाएर पूजाआजा गरेर जाने विशेष परम्परा रहेको छ । शिखर पुग्नु अगाडि गणेपानी ‘खोलामा’ हात खुट्टा धोएर जाने गरिन्छ भने बिहान हिँडेका दर्शनार्थी साँझ ७–८ बजे तिर गात शिखरमा पुग्ने गर्दछन ।
शिखरमा ६ गाउँबाट देउरो जाने गर्दछन । गन्यापधुरा गाउँपालिकास्थित मालिगाउँ, रुमायल, जैसेरा, रेल र डोटीको शिखर नगरपालिकाको थप्सा र बान्डुग्रीशैनबाट संयुक्त रुपमा देउरो जाने परम्परा रहेको छ । नेजा ध्वजासहितको देउरो लैजाँदा विभिन्न ठाउँहरूमा दाइन, दमाहा, शंक, घण्टा, बिगुल तथा भोक्करहरू बजाएर लैजाने गरिन्छ । दमाहा पनि लाटागन्याप देवताबाट विशेषाधिकार प्राप्त दमाइ जातिका व्यक्तिहरूले मात्रै बजाउने गरेको गन्यापका धामी जयराज भट्टले जानकारी दिए ।
मेला भर्नकालागि जाने दर्शनार्थीले साता अगाडिदेखि नै शुद्ध खानेकुरा खाने गर्दछन । माछा, मासु, अण्डा, प्याज, लसुनसमेत नखाई चोखो खाना खाएर उपासना गरि मेलामा सहभागी भइ चोखो मनले मागेको वरदान पूरा हुने धार्मिक विश्वास रही आएको छ ।
मेला भर्नको लागि डडेल्धुरा, डोटी लगायत सुदूरपश्चिम तथा देशका विभिन्न ठाउँहरूबाट भक्तजनहरू आउने गरेको गन्यापका दोरिया हरिलाल भट्टले बताए । जाँतमा गाइने देउडा, फाग, चैत, धुमारी पनि लाटागन्यापको गाथामा आधारित हुने गरेका उनको भनाइ छ ।