डाेटी- डाेटीमा पहिरोमा पुगिएर दम्पती घाइते भएका छन् । गए राति घरमाथि खसेको पहिरोमा पुरिएर डोटी बड्डीकेदार गाउँपालिका–४ टिमुटेका ४५ वर्षीय तुलाराम जेठारा र उनकी ४० वर्षीय श्रीमती भागरथी जेठारा घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सूर्य भट्टले जानकारी दिए ।
घरमा सुतिरहेका बेला खसेको पहिरोले दुवै जना घाइते भएका थिए । दुवै जनालाई उद्धार गरी नजिकैको स्वास्थ्य संस्थामा लगिएको छ । प्रहरीका अनुसार तुलारामको अवस्था मध्यम छ भने भागरथीको अवस्था गम्भीर रहेको छ । पहिरोमा पुरिएर दर्जन बढी खसीबोका र गाई गोरु मरेको प्रहरीले जनाएको छ ।
डोटीमै खोलाले बगाउँदा केआईसिंह गाउँपालिका–४, कार्की गाउँकी ८ वर्षीया बालिका निर्मला चन्द बेपत्ता भएकी छन् । वाइल बजारमा दूध पुर्याउन जाने क्रममा बिहान ७ बजे बालिकालाई खोलाले बगाएको प्रहरीले जनाएको छ ।
उनको खोजी जारी छ ।