धनगढी–पहिलो कार्यकालमा मन्त्रिपरिषद् विस्तार गर्न महिनौं कुर्नु परेको परिप्रेक्ष्यमा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह दोस्रो कार्यकाल शुरु भएको ३८ दिन बितिसक्दा पनि बजेट ल्याउन नसकेर असफल बन्न थालेका छन ।
सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बहादुरसिंह थापा भने भागबण्डाको कुरा नभई पुरानो बजेटमा पुनरावलोकन गर्नुपर्ने भएकाले बजेट ल्याउन ढिलाई भएको बताउछन । उनले भदौ मसान्तभित्रै बजेट संसदमा प्रस्तुत हुने दाबी गरे । सुदूरपश्चिम प्रदेशसभा सचिवालयले बिहीबार सदन बोलाएको छ । सदनमा सुदूरपश्चिम प्रदेश सरकारले यसअघि सदनमा प्रस्तुत भएको बजेट खारेजीको प्रस्ताव लैजाने छ भने त्यसपछि सरकारले प्रतिस्थापन विधेयकका रूपमा नयाँ बजेट प्रस्तुत गर्नेछ ।
सत्ता साझेदार दल नेकपा एमालेले यस अघि बजेटमा गरिएको बदमासी सुधार्नका लागि बढी समय लागेको प्रतिक्रिया दिएको छ । ‘पहिलेको बजेट बन्नुभन्दा तीनदिन अघि मात्रै हामी सरकारमा गयौं, सिस्टम बन्द भइसकेकाले बजेट हेर्नसमेत पाइएन । बजेटमा बदमासी गरिएकोले अहिले बजेट पुनरावलोकन भएर आइरहेको छ,’ नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलले भने । बजेट नआउँदा दुई महिनादेखि प्रदेश सरकारका निकायहरुमा कार्यरत कर्मचारीहरुले तलब खान पाएका छैनन भने प्रदेशभित्रका पूर्वाधार निर्माणका कामहरू ठप्प भएका छन ।
संघीय सरकारले दिने ससर्त अनुदानको बजेट पनि प्रदेश बजेट नआएकाले चलाउन नपाइने भएको छ । हाल प्रदेश सरकार उधारोमा चलिरहेको छ । प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू उधारोमा इन्धन मागिरहेका छन भने प्रदेशको आर्थिक गतिविधि शून्यप्रायः भएको छ । बजेट ल्याउन ढिलाई हुँदा कतिपय कार्यक्रम प्रभावित भइसकेको अधिकारीहरु बताउछन ।
