डडेल्धुरा – पछिल्लो समय देशका विभिन्न स्थानहरुमा हैजाको सक्रमण देखिए संगै सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा पनि केही विरामीहरुमा हैजाको पुष्टि भएको छ।
जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार आज थप द्ई जनामा हैजा पुष्टि भएको छ । आज थप हैजा पुष्टि भएकामा दुई बालक रहेका छन्। उनीहरू दुवैको घरमै उपचार भइरहेको छ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलका ६ र ८ वर्षका दुई बालकमा हैजा पुष्टि भएको हो। थप ४ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । आइतबार पनि त्यस टोलमा परीक्षणका लागि दिसा संकलन भइरहेको जिल्लान स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार यसअघि पनि पशुपति टोलका २३ र २६ वर्षीय दुई युवकमा हैजा पुष्टि भएको थियो। स्वास्थ्य कार्यालयले यसका बारेमा माथिल्ला निकायमा जानकारी गराइसकेको बताउँदै सतर्कता अपनाउनु पर्ने अवस्था रहेको जनाएको छ।

