अनाथ तथा असहाय विद्यार्थीलाई विनयप्रकाशको सहयोग
परशुराम नगरपालिकाका १७ विद्यालयमा अध्ययनरत ७७ अनाथ तथा असहाय विद्यार्थीहरुलाई पोशाक र शैक्षिक सामाग्री वितरण
जोगबुडा–युवा समाजसेवी विनयप्रकाश मल्लले परशुराम नगरपालिकाका ७७ जना विपन्न, अनाथ तथा असहाय विद्यार्थीहरुलाई ट्रयाकसुट र शैक्षिक सामाग्री उपलब्ध गराएका छन ।
विश्व हिन्दु युवा संघ डडेल्धुरा जिल्ला कार्यसमितिको समन्वयमा नगरक्षेत्रका १७ विद्यालयमा अध्ययनरत ७७ जना विद्यार्थीहरुलाई मंगलबार ट्रयाकसुटसँगै कापी, कलम, झोला र अन्य शैक्षिक सामाग्रीहरु वितरण गरिएको हो ।
युवा समाजसेवी मल्लले अनाथ, टुहुरा तथा विपन्न विद्यार्थी छनौट गरेर यस अघिनै डडेल्धुराका दुई सयभन्दा बढी बालबालिकालाई ट्रयाक सुट तथा विद्यालय पोशाक र शैक्षिक सामाग्रीहरु वितरण गरेका छन ।
अमरगढी नगरपालिका–४ खलंगा घर भएका मल्ल हाल जापानमा कम्पनी सञ्चालन गर्छन । जापानमा कमाएको पैसा उनले यहाँको सामाजिक क्षेत्रमा खर्च गर्दै आएका छन । उनले डडेल्धुरा जिल्लाभरिका झण्डै तीन दर्जन सामुदायीक विद्यालयमा अक्षयकोष स्थापना गरेर गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई छात्रवृति वितरण गरिरहेका छन भने उपचार खर्चको अभावमा रहेका बिरामीहरुलाई पनि आर्थिक सहयोग गरिरहेका छन ।
यसबाहेक समाजसेवी मल्लले बिभिन्न धार्मिकस्थलहरुको विकासका लागि आर्थिक सहयोग गरिरहेका छन । विपन्न तथा विपद्मा परेका समुदायलाई राहातस्वरुव खाद्यान वितरण गर्दै आएमा समाजसेवी मल्लले जापानी भाषाको अध्ययन गरेर निःशुल्क कामदार भिसामा जापान जान युवायुवतिहरुलाई सघाउँदै आएका छन ।
