जिल्ला दररेट उचित नभएको भन्दै डडेल्धुराका व्यवसायी

डडेल्धुरा । जिल्ला प्रशासन कार्यालयले तोकेको दररेट उचित नभएको भन्दै व्यसायीहरुले आपत्ति जनाएका छन । धनगढीको दररेट तोकिएको र उक्त दररेटमा निर्माण सामाग्री आपूर्ती गर्न नसकिने भन्दै डडेल्धुराका व्यवसायीहरुले आपत्ति जनाएका छन । सोमबार पत्रकार सम्मेलन गर्दै उद्योग बाणिज्य संघ, निर्माण व्यवसायी संघ र हार्डवयर व्यवसायी संघले आपत्ति जनाउदै प्रमुख जिल्ला अधिकारीलाई समेत प्रेस विज्ञप्ति बुझाएका छन ।
डडेल्धुरा उद्योग वाणिज्य संघका अध्यक्ष द्विजराज भट्ट, निर्माण व्यवसायी संघका अध्यक्ष भवानीदत्त अवस्थी र डडेल्धुरा हार्डवेयर संघका अध्यक्ष लालमणी पन्तले संयुक्त प्रेस विज्ञप्तिमार्फत् व्यवसायिक संघसंस्थाहरूलाई बेवास्था गरी एकहोरो रूपमा जिल्ला दररेट निर्धारण गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

असार ३० गते (आइतबार) जिल्ला दररेट निर्धारण समितिको बैठकले कुनै पनि वैज्ञानिक छलफल र बजार दररेटको पनि वास्ता नगरी एकहोरो रूपमा जिल्ला दररेट निर्धारण गरेको व्यवसायीहरूको आरोप छ ।

उक्त प्रेस विज्ञप्तिमा भनिएको छ, ‘‘जिल्ला बाहिरबाट आयात हुने सामग्रीहरूको हकमा कैलाली जिल्लाको दररेटलाई आधार मानेर कैलालीमा उत्पादन नै नहुने निर्माण सामग्रीको समेत दररेट निर्धारण गर्दा कैलालीको जिल्ला दरमा भाडा मात्र जोडी एकतर्फी रूपमा व्यवसायिक संघसंस्थाहरूको कुरा नसुनेर मनोमानी ढंगले बनाइएको जिल्ला दररेटप्रति हाम्रो घोर आपत्ति रहेको समेत यसै विज्ञप्तिमार्फत जानकारी गराउँदछौं।’

जिल्ला दररेट कायम गर्दा उत्पादन स्थल तथा कैलाली जिल्लाको दररेटलाई आधार मानेर निर्धारण गर्दा पनि भाडा तथा अन्य लोडिङ, अनलोडिङ र स्थानीय व्यवसायिको मार्जिनसमेत संलग्न गरी वैज्ञानिक दररेट निर्धारण गराउन जिल्ला दररेट समितिलाई अनुरोध गरिएको छ।

डडेल्धुराका व्यवसायिक संघसंस्थाका प्रतिनिधिहरू उक्त विज्ञप्तिलाई प्रमुख जिल्ला अधिकारी अधिकारी अञ्जन न्यौपानेलाई समेत बुझाएका छन् ।

You might also like