एकिकृत विकास समाजद्वारा शैक्षिक सामाग्री वितरण

डडेल्धुरा–सामाजिक क्षेत्रमा दुई दशकदेखि क्रियासिल गैरसरकारी संस्था एकिकृत विकास समाज डडेल्धुराले बैतडी तथा डडेल्धुराका १३ वटा सामुदायीक विद्यालयहरुमा अध्ययनरत सिमान्तकृत तथा विपन्न समुदायका जेहन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

अन्तराष्ट्रिय गैर सरकारी संस्था एफसीएको आर्थिक सहयोगमा एकिकृत विकास समाजले झण्डै पाँच बर्षदेखि कार्यान्वयन गरिरहेको सिमान्तकृत वर्गको लागी सामाजिक तथा आर्थिक सशक्तीकरण परियोजना मार्फत स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति तथा शिक्षकहरुको रोहवरमा शैक्षिक सामाग्रीहरु वितरण गरिएको हो ।

परियोजना अन्तर्गत डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकाकामा रहेका आठ वटा सामुदायीक विद्यालय र बैतडीको पाटन नगरपालिकामा रहेका पाँच वटा सामुदायीक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरिएको एकिकृत विकास समाज डडेल्धुराका कार्यकारी निर्देशक पदमा गुरुङले जानकारी दिइन् ।

विभन्न चरणमा डडेल्धुरा तथा बैतडीका सामुदायीक विद्यालयका विपन्न तथा जेहन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको र हाल दुबै जिल्लाका एक सय विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरिएको परियोजनाले जनाएको छ । शैक्षिक सामाग्रीको प्याकेजमा प्रति विद्यार्थी एउटा स्कुल व्याग, चार दर्जन कापी, दुई प्याकेट डटपेन, दुई प्याकेट कलर, एक थान जमेट्री बक्स्, पाँच थान कटर, पाँच थान इरेजर र दुई वटा पेन्सिल समावेश गरिएको एकीकृत विकास समाज डडेल्धुरा कार्यक्रम संयोजक बाबुराम श्रेष्ठले बताए ।

आगामी दिनमा पनि यस क्षेत्रका पछाडी पारिएका वर्गको आर्थिक तथा सामाजिक सशक्तीकरणका लागी समुदायको आवश्यकतामा आधारित कार्यक्रमहरु प्रभावकारी रुपमा कार्यान्वयन गरिने संस्थाले जनाएको छ । २०६० सालदेखि एकीकृत विकास समाज डडेल्धुराले सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लामा आर्थिक विकास, खाद्य सुरक्षा तथा पोषण, जलवायु अनुकुलन, विपद् जोखिम न्युनीकरण, सामुदायीक स्वास्थ्य, लैङ्गिक सम विकास तथा महिला मानव अधिकार, जलवायु मैत्री हरित कृषि उत्पादन जस्ता कार्यक्रमहरु कार्यान्वयन गर्दै आएको संस्थाले जनाएको छ ।

 
You might also like