डडेल्धुरा–एसइई परीक्षा २०८० को सार्वजनिक नतिजाले डडेल्धुराको माउण्टेन इङ्लिस मिडियम बोर्डिङ माध्यामिक विद्यालयले जिल्लामै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । डडेल्धुरा सदरमुकामस्थित संस्थागत विद्यालयमा जिल्लाकै शिर्षस्थ र अग्रणी शैक्षिक प्रतिष्ठान मानिने माउण्टेनले शैक्षिक गुणस्तर र उपलब्धिमा विगतको इतिहास कायम राख्दै सर्वोत्कृष्ट नतिजा ल्याएको हो ।
माउन्टेनबाट एसईई परीक्षामा सहभागी कुल विद्यार्थीमध्ये ८६ दशमलव २७ प्रतिशत परीक्षार्थीहरु सफल भएको र जिल्लाभरिमा सबैभन्दा सर्वोत्कृष्ट जीपीए ल्याउन सफल भएको शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुराले जनाएको छ । एसईई परीक्षा २०८० मा माउण्टेनबाट कुल ५१ जना परीक्षार्थी सहभागी भएका थिए । जसमा ४४ जना परीक्षार्थी उत्तीर्ण भएको बिद्यालयले जनाएको छ । ४४ जना परीक्षार्थी मध्ये १८ जना परीक्षार्थीले ३ दशमलव ६ भन्दा माथी जिपीए ल्याएको बिद्यालयका प्रिन्सिपल महेश महराले जानकारी दिए ।
विगतका बर्षहरुमा जस्तै २०८० को एसइई परीक्षामा पनि अब्बल नतिजा ल्याउन सफल भएको माउन्टेनले स्थानीय र जिल्ला स्तरीय अतिरिक्त क्रियाकलापहरुमा समेत उत्कृष्ट स्थान हासिल गर्दै आएको छ । डडेल्धुरा जिल्लाबाट एसईई दिएकामध्ये ७९.१७ प्रतिशत परीक्षार्थीहरु असफल भएका छन ।
राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको नतिजाअनुसार डडेल्धुरा जिल्लाबाट एसईई परीक्षा दिएका कुल दुई हजार चार सय ८१ जना ७९.१७ प्रतिशत अर्थात् एक हजार नौं सय ६४ जना विद्यार्थीे ११ कक्षामा भर्ना हुन अयोग्य भएका छन ।
शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुराका प्रमुख नारदप्रसाद जोशीका अनुसार परीक्षामा सहभागी भएकामध्ये २०.८३ प्रतिशत अर्थात पाँच सय १७ जनामात्रै विद्यार्थी कक्षा ११ मा भर्ना हुन योग्य भएका छन । नतिजामा ननग्रेडिङ पाएका सबै परीक्षार्थीले अगामी साउन १८ र १९ गते सञ्चालन हुने ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन । यस आधारमा कक्षा ११ मा भर्ना हुन योग्य विद्यार्थीको प्रतिशत बढ्नसक्ने जोशीले बताए ।
