अजयमेरु महोत्सव २०८२ आज बाट सुरु

खेलकुद,स्थानीय कला र कृषि प्रदर्शनी मुख्य आकर्षण

डडेल्धुरा-जिल्लाको अजयमेरु गाउँपालिका वडा नं २ को चमडामा आज बाट अजयमेरु महोत्सव २०८२ औपचारिक रूपमा सुरु भएको छ। गाउँपालिका अध्यक्ष उमेश भट्ट विकासले शनिबार एक विशेष समारोहका बिच महोत्सवको उदघाटन गर्नुभएको हो।

कार्तिक १५ देखि १८ गतेसम्म चल्ने यो महोत्सवको मुख्य उद्देश्य अजयमेरुकोट लाई राष्ट्रिय स्तरमा पहिचान दिलाउनु र यस क्षेत्रको पर्यटन प्रवर्द्धन गर्नु रहेको आयोजक तथा वडा नम्बर २ का अध्यक्ष शिवराज भट्टले बताए।

अजयमेरु क्षेत्र ऐतिहासिक, धार्मिक र प्राकृतिक सम्पदाले सम्पन्न रहेकाले यसको प्रचार–प्रसार गरी यसलाई बाह्य तथा आन्तरिक पर्यटकको आकर्षण स्थल बनाउने लक्ष्यका साथ महोत्सवलाई धार्मिक, सांस्कृतिक र खेलकुदसँग जोडेर व्यापक रूपमा सञ्चालन गर्न लागेको आयोजक तथा वडा नम्बर २ का अध्यक्ष शिवराज भट्टले बताए ।

महोत्सवमा स्थानीय कला र संस्कृति संरक्षणका साथै विभिन्न सांस्कृतिक प्रस्तुतिहरु समावेश छन्, जसमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ । कृषि प्रवर्द्धनका लागि स्थानीय कृषकहरूले उत्पादन गरेका वस्तुहरूको प्रदर्शन सहितको कृषि प्रदर्शनी र पर्यटन सम्बन्धी स्टलहरू समेत राखिएका छन्।

उदघाटन कार्यक्रममा विभिन्न जनप्रतिनिधि, कलाकार, कर्मचारी, शिक्षक, सञ्चारकर्मी र खेलाडीहरूको उपस्थिति रहेको थियो।

You might also like