भूमि समस्या समाधान आयोग खारेज गरिएको विरोधमा अखिल नेपाल किसान महासंघ र भूमि अधिकार तथा श्रमिक सङ्गठनले देशव्यापी प्रदर्शन गर्ने घोषणा गरेका छन् । अखिल नेपाल किसान महासङ्घले सोमबार पत्रकार सम्मेलन गरेर मंगलबारदेखि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।
पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष डा. प्रेम दङ्गालले विरोधस्वरूप मंगलबार काठमाडौँको तीनकुनेमा विरोध प्रदर्शन तथा कोणसभा गर्ने र असोज २९ गते देशभर प्रदर्शन गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइने जानकारी दिए।
अध्यक्ष दङ्गालले झन्डै २५ लाखको हाराहारीमा रहेका भूमिहीन किसान, श्रमिक र मुक्त कमैयाहरूलाई संविधानले एक पटक भूमि उपलब्ध गराउने व्यवस्था गरेको भए तापनि निर्वाचित सरकारले गठन गरेको आयोग खारेज गर्नु संविधानसम्मत नभएको बताएका छन् ।