कैलालीको गेटामा डा. गोविन्द केसीको सत्याग्रह सुरु

चिकित्सा क्षेत्र सुधारको माग गर्दै बारम्वार सत्याग्रह गर्ने डा. गोविन्द के.सी.ले मेडिकल विश्वविद्यालय सञ्चालन लगायत चारबुँदे माग गर्दै कैलालीको गेटामा सत्याग्रह सुरु गरेका छन् । आज पत्रकार सम्मेलन गरेर डा. केसीले गेटा अस्पतालमा तीनदिने सत्याग्रह सुरु गरेको घोषणा गरेका छन् ।

ड. केसीले गेटामा सहिद दशरथ चन्द चिकित्सा शिक्षा विश्वविद्यालय सञ्चालन गर्न, निजी मेडिकल कलेजको सिट संख्या वृद्धिको निर्णय खारेज गर्न, स्वास्थ्य प्रतिष्ठान र विश्वविद्यालयमा पदाधिकारी नियुक्त गर्न माग गरेका छन् । त्यस्तै, विगतको सम्झौताअनुसार इलाम, उदयपुर र डडेल्धुरामा मेडिकल कलेज सञ्चालन गर्नुपर्ने माग डा.केसीले अघि सारेका छन् ।

भारत सरकारसँग कुरा गरेर अतिक्रमित नेपाली भूमि लिपुलेक फिर्ता ल्याउन डा. केसीले सरकारसँग माग गरेका छन् । त्यस्तै युक्रेन र गाजामा भइरहेको नरसंहारकारी युद्ध तुरुन्त बन्द गर्न डा. केसीले रुस र इजरायलसँग माग गरेका छन् ।

चिकित्सा क्षेत्र सुधारको माग गर्दै केसीको यो २३औँ सत्याग्रह हो । गेटाकै विषयमा यसअघि उनले तीनपटक सत्याग्रह गरेका थिए । पत्रकार सम्मेलनमा उनले गेटा विश्वविद्यालयमा तत्काल पदाधिकारी नियुक्त गर्न र पूर्ण क्षमतामा अस्पताल सञ्चालन गर्न माग गरे । सहिद दशरथ चन्द चिकित्सा शिक्षा विश्वविद्यालयसम्बन्धी ऐन पारित भए पनि सरकारले विश्वविद्यालयका पदाधिकारी नियुक्त गरेको छैन ।

विश्वविद्यालय तत्काल सुरु नगरे यहाँ निर्मित संरचना काम नलाग्ने बन्ने डा। केसीले बताए । गेटामा करिब ६ अर्ब ६८ करोड रुपैयाँको लागतमा भवनहरू बनेका छन् । तर, पाँच वर्षसम्म प्रयोगमा नआउँदा ती संरचनाहरु जीर्ण बन्न थालेका छन् ।

You might also like