डडेल्धुरा-स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) को नतिजामा सुदूरपश्चिमतर्फ कैलालीको घोडाघोडी नगरपालिका उत्कृष्ठ नतिजा ल्याउदै प्रदेशमै पहिलो बनेको छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८० ८१ मा स्थानीय तहहरूको गुणस्तर र कार्यसम्पादनको परीक्षणपछि सार्वजनिक गरेको नतिजाअनुसार कैलालीको घोडाघोडी नगरपालिकाले ८५.५० अंक प्राप्त गर्दै प्रदेशमै उत्कृष्ट स्थान हासिल गरेको हो।
कैलालीको घोडाघोडी पहिलो स्थानमा आउँदा बैतडीको मेलौली नगरपालिकाको नतिजा भने नाजुक देखिएको छ ।मेलौलीले जम्मा ३१.२५ अंक मात्र प्राप्त गरेको छ। बाजुराको बुढीगंगा नगरपालिका ८४.२५ अंकसहित दोस्रो भएको छ ।
यसैगरी, प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढी ८४ अंकसहित प्रदेशमा तेस्रो भएको छ । बाजुराकै बडीमालिका नगरपालिकाले ८३.५०, कञ्चनपुरको बेदकोट नगरपालिका र डडेल्धुराको अजयमेरु गाउँपालिकाले समान ८३.३५ अंक पाएका छन् ।
कञ्चनपुरको बेलौरी नगरपालिकाले ८२.५०, डोटीको जोरायल गाउँपालिकाले ८२.२५, कञ्चनपुरका बेलडाँडी र लालझाडी गाउँपालिकाले समान ८१.७५, बाजुराको जगन्नाथ गाउँपालिकाले ८१.५० पाएका छन् ।
मन्त्रालयका अनुसार मूल्याङ्कन शासकीय प्रबन्ध, वित्तीय व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन र भौतिक पूर्वाधारलगायत १० वटा मुख्य सूचकका आधारमा गरिएको हो। यस मूल्याङ्कनको उद्देश्य स्थानीय तहहरूको कामको समीक्षा गर्ने, सुधारका क्षेत्र पहिचान गर्ने र आपसी स्वस्थ प्रतिस्पर्धा बढाउने रहेको मन्त्रालयले जनाएको छ।
