काठमाडौं-भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइटमा च्याम्पियन बनेका रवीन्द्र ढाँटलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् ।
पहिलो पटक नेपाललाई उपाधि दिलाउन सफल भएको भन्दै प्रधानमन्त्री ओलीले रवीन्द्रलाई बधाई दिएका हुन् ।
‘भारतका चोंगरेंग कोरेनलाई हराउँदै रवीन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट (एमएफएन) १७ मा बान्टमवेट च्याम्पियन बन्न सफल हुनुभएको छ । पहिलो पटक नेपाललाई उपाधि दिलाउन सफल रवीन्द्रलाई हार्दिक बधाई’, प्रधानमन्त्री ओलीले भनेका छन् ।
गएराति भएको खेलमा भारतका कोरेनलाई पराजित गर्दै ढाँटले म्याट्रिक्स फाइट नाइट (एमएफएन) १७ मा बान्टमवेट तौलसमूहको उपाधि चुमेका हुन् । उक्त उपाधि जित्ने रवीन्द्र पहिलो नेपाली फाइटर बनेका छन् । उनी बझाङका हुन् ।
ढाँटले डिफेन्डिङ च्याम्पियन भारतका कोरेनलाई तेस्रो राउण्डको ५४ औं सेकेन्डमा नकआउट गरेका थिए ।
आफ्नो व्यावसायिक रेकर्ड मा सुधार गर्दै रवीन्द्रले कोरेनको पाँच लडाइँको जितको श्रृंखलालाई भंग गरिदिएका हुन् ।
व्यावसायिक एमएफएन करिअरमा यो उनको नवौं जित हो ।