डडेल्धुरा अस्पतालको गेटमा कालो ब्यानर

डडेल्धुरा-डडेल्धुरा जिल्ला सदरमुकाम स्थित डडेल्धुरा अस्पताललाई स्वास्थ्य बिमाको प्रथम सेवा बिन्दुबाट हटाएको भन्दै सर्वत्र विरोध हुन थालेको छ । हजारौं बीमीतलाई स्वास्थ्य बिमा कार्यक्रमबाट बञ्चित हुने गरी प्रथम बिन्दुबाट हटाइएको भन्दै विरोध हुन थालेको हो ।


माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले विज्ञप्ति नै जारी गर्दै विरोध गरेका छन् भने नेकपा (माओवादी केन्द्र) ,नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली कांग्रेस (बीपी) लगायतका दलहरूले गम्भीर आपत्ति जनाउँदै ज्ञापनपत्र बुझाएका छन्।
यस्तै, सामाजिक अभियन्ता बोलन्या थलीले अस्पतालको मुख्य प्रवेश गेटमा कालो ब्यानर लगाएको छ । बोलन्या थलीका अध्यक्ष यादव जोशीले स्वास्थ्य बिमाको प्रथम बिन्दु हटाएको विरोधमा कालो ब्यानर राखिएको बताए ।

स्वास्थ्य बीमा बोर्डले सुदूरपश्चिमको एकमात्र संघीय अस्पतालका रुपमा रहेको डडेल्धुरा अस्पताललाई प्रथम सेवा बिन्दुबाट हटाएको थियो । प्रथम सेवा बिन्दुबाट हटाइएसंगै साउन १ गतेदेखि प्रथम सेवा बिन्दुबाट सिफारिस लिएर आएका बीमित बिरामीहरूले मात्र डडेल्धुरा अस्पतालमा बिमा सुविधा पाउने जानकारी अस्पतालले गरेको छ । डडेल्धुरामा प्रथम सेवा बिन्दु जोगबुढा अस्पताललाई राखिएको छ ।

You might also like