डडेल्धुरामा स्वास्थ्य बीमाः दलहरू द्वारा आन्दोलनको चेतावनी

डडेल्धुरा-स्वास्थ्य बीमा बोर्डले डडेल्धुरा अस्पताललाई स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको प्रथम सेवा बिन्दुबाट हटाएर रेफरल सेवामा मात्र सीमित गर्ने निर्णय गरेपछि डडेल्धुराका विभिन्न राजनीतिक दलहरूले कडा विरोध सहित आन्दोलन गर्ने चेतावनी दिएका छन्।

राजनीतिक दलहरूले डडेल्धुराका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय बीमा बोर्ड बबरमहल, काठमाडौंलाई ध्यानाकर्षण गराएका छन्। उनीहरूले यस निर्णयले डडेल्धुरा लगायत सुदूरपश्चिमका पहाडी जिल्लाका नागरिकको स्वास्थ्य सेवामा गम्भीर र प्रत्यक्ष असर पर्ने भन्दै तत्काल फिर्ता लिन माग गरेका छन्।
यस निर्णयविरुद्ध नेकपा (माओवादी केन्द्र) ,नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली कांग्रेस (बीपी) लगायतका दलहरूले गम्भीर आपत्ति जनाउँदै ज्ञापनपत्र बुझाएका छन्। उनीहरूले यस निर्णयलाई जनविरोधी, अव्यावहारिक र गैरजिम्मेवार कदम भनेका छन्।

You might also like