आशुँ भण्डारी
जोगबुडा–नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आईतबारदेश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँएको छ।
रङ्गुन साहित्य प्रतिस्ठान जोगबुडाद्वारा विविध कार्यक्रमसहित आदिकवि आचार्यको २१२औँ जन्मजयन्ती मनाईएको हो । भित्रिमधेस क्षेत्रकै शिर्षस्थ शैक्षिक प्रतिष्ठान सिद्धनाथ माध्यामिक विद्यालय जयपुर, जोगबुडाको प्राङ्गणमा बिभिन्न जातका फलफूलका विरुवा रोपण गरिनुकासाथै स्थानीयस्तरमा क्रियासिल प्रतिष्ठित साहित्यकारहरुद्वारा रचनावाचन गरेर कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका अवशरमा परशुराम नगरपालिका वडा नं. १२ का वडाध्यक्ष महाबिर कामीलाई कदर पत्र प्रदानगर्दै सम्मान गरिएको रंगुन साहित्य प्रतिष्ठानका अध्यक्ष बद्रिसिंह खत्रीले बताए । उनले साहित्यकार रोशन अवस्थीको संयोजकत्वमा गठित भानु जयन्ती आयोजक समितिको आयोजनामा कार्यक्रम सम्पन्न भएको जानकारी दिए ।
प्रतिष्ठानले हरेक बर्ष भानु जयन्तीका अबशरमा विविध कार्यक्रमको आयोजना गर्दै आएको छ । नेपालमा मात्र नभई विश्वभर भानु जयन्ती भब्य रुपमा मनाउने गरिएको र पछिल्लो समयमा आएर साहित्य प्रति युवापिढिको रुचि घटँदै गएकाले नियमित रुपमा साहित्य सम्बन्धि कार्यक्रमहरु सञ्चालन गरिनुपर्ने साहित्यकार कैलाशकुमार पाण्डेयले बताए। सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर आदिकवि भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका थिए। उनले लेखेको रामायण अहिले पनि नेपालीको घर–घरमा लयसाथ पाठ गरिन्छ।
पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका थिए। विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए। ‘वधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो। यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, रामगीता’, फुटकर रचनालगायत कृति छन्। नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ। भानुभक्त ऐतिहासिक व्यक्ति भएकाले सम्पूर्ण नेपालीले उनको सम्मान गर्नुपर्ने र उनका विचारका बारेमा उठेका विवादमाथि छलफल एवं समीक्षात्मक कार्यक्रम गर्नु आजको प्रमुख आवश्यकता भएको समालोचकहरूको धारणा छ।
त्रिभुवन विश्वविद्यालयबाट भानुभक्तबारे स्नात्तकोत्तरमा थुप्रै शोधग्रन्थ लेखिएका छन्। यस उपलक्ष्यमा आईतबार बिहान काठमाडौँको रानीपोखरीअगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण र प्रभातफेरी गर्ने कार्यक्रम सम्पन्न गरिएको छ। भानुभक्तका विषयमा अध्ययन अनुसन्धान गरिरहेका त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली रामायण जस्तो ग्रन्थलाई नेपाली लोकलयमा भावानुवाद गरी भाषिक एकताको महत्वपूर्ण योगदान गरेकाले भानुभक्तलाई आदिकवि भनिनु न्यायोचित रहेको बताउँछन्। रामायण ग्रन्थले भाषिक क्षेत्रमा नयाँ युग निर्माण गरेको मानिन्छ। उनको निधन विसं १९२५ असोजमा भएको थियो। भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भूटान, बर्मालगायत नेपाली भाषाभाषी धेरै रहेका देश एवं स्थानमा पनि मनाइन्छ।