अजयमेरु गाउँपालिकाद्वारा सहभागितात्मक अनुगमन मुल्यांकन कार्य सम्पन्न

डडेल्धुरा-डडेल्धुराको अजयमेरु गाउँपालिकाले चालु आर्थिक बर्षमा सम्पन्न गरेका योजना तथा कार्यक्रमहरुको सहभागितात्मक अनुगमन मुल्यांकन कार्य सम्पन्न गरेको छ।

जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिँह भण्डारी, गाउँपालिकास्तरमा क्रियासिल राजनीतिक दलका प्रतिनिधीहरु, नागरिक समाजका अगुवाहरु, उपाध्यक्ष बसन्ती पाल नेतृत्वको गाउँपालिकास्तरीय अनुगमन समितिका पदाधिकारीहरु, प्रावधिक कर्मचारी, लाभग्राही बर्ग र जिल्लामा क्रियासिल सञ्चारकर्मीसमेतको सहभागितामा सहभागितात्मक अनुगमन मुल्यांकन कार्य सम्पन्न भएको हो।

सहभागितात्मक अनुगमन कार्य सम्पन्न भई बिहीबार गाउँपालिकालाई प्रतिवेदन पेश गरिएको अजयमेरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितेन्त्द्र ओझाले बताए। उनले गाउँपालिकास्तरीय अनुगमन समितिबाट योजनाहरुको अनुगमन मुल्यांकन गर्ने कार्य नियमित रुपमा भइरहेको र यसपटक सहभागितात्मक अनुगमन मुल्यांकन पद्धतिको अभ्यास गरिएको जानकारी दिए।

गाउँपालिका अध्यक्ष उमेश प्रसाद भट्ट ‘विकास’ ले चालु आर्थिक बर्षमा गाउँपालिकाभरि कार्यान्वयन गरिएका महत्वपुर्ण योजना तथा कार्यक्रमहरुको सहभागितात्मक अनुगमन मुल्यांकन कार्य सम्पन्न भई महत्वपुर्ण पृष्ठपोषणसहित प्रतिवेदन प्राप्त भएको बताए। अजयमेरु गाउँपालिकाले योजना चक्रका हरेक चरणमा जनसहभागितालाई प्राथमिकता दिइरहेको उल्लेखगर्दै अध्यक्ष भट्टले सहभागितात्मक अनुगमन मुल्यांकन पद्धतीको अभ्यासबाट कार्यान्वयन गरिएका योजना तथा कार्यक्रमहरुको प्रभावकारिता बृद्धि हुने विश्वास ब्यक्त गरे।

अजयमेरु गाउँपालिकाका विकट बस्तीमा पुगेर सहभागितात्मक अनुगमन मुल्यांकन कार्य सम्पन्न गरिएको जिल्ला समन्वय समितिका प्रमुख भण्डारीले बताए। उनले सबै स्थानीय तहले सहभागितात्मक अनुगमन मुल्यांकनको अभ्यास गर्न जरुरी रहेको बताए। जिल्ला समन्वय समितिले जिल्लाभर कार्यान्वयन गरिएका योजनाहरुको सहभागितात्मक अनुगमन मुल्यांकन गर्न सबै निकायहरुसँग समन्वय सहकार्य गरिरहेको उनले जानकारी दिए ।

You might also like